सौन्दर्य व्यवसायलाई पुरानै लयमा फर्काउने प्रयासमा ‘ग्लो टु ग्लो’

नेपालखोज २०७९ वैशाख ३ गते १६:४२

काठमाडौं । सौन्दर्य व्यवसायमा संलग्न महिलाहरूको क्षमता अभिवृद्धि गर्दै आएको ‘ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो’ ले व्यावसायिक क्षमता विकास सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

कोभिड–१९ प्रकोपका कारण थलिएको व्यवसायलाई पुरानै अवस्थामा फर्काउने अभिप्रायले ‘ग्लो टु ग्लो’ले देशभरका तीन सय ४३ जना ब्युटिसियनलाई उच्चस्तरीय तालिम प्रदान गरेको छ । नयाँ वर्षका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ‘ग्लो टु ग्लो’ बाट ‘डिप्लोमा र मास्टर्स क्लास कोर्ष’ गर्ने महिलाहरूलाई संयुक्त अरब इमिरेट्स सरकार अन्तर्गतको ‘नलेज एन्ड ह्युमन डेभेलप्मेन्ट अथ्योरिटी (केएचडिए)’ बाट सम्बन्धन प्राप्त प्रमाणपत्र प्रदान गरिएको छ ।

‘ग्लो टु ग्लोः दी ब्युटी स्टुडियो’ की संस्थापक विनिता शाहका अनुसार कार्यक्रममा १०८ जनाले प्रत्यक्ष उपस्थित भएर प्रमाणपत्र लिएका छन् । ‘ग्लो टु ग्लो’ ले सौन्दर्य व्यवसायमा संलग्न महिलाहरूलाई उच्च स्तरीय तालिम प्रदान गरिरहेको संस्थापक शाहले बताइन् ।

‘बेहुलीको श्रृङ्गार तथा ब्युटीपार्लर सञ्चालन गर्नेहरू महिला दिदी बहिनीहरूलाई काठमाडौंमै मेकअप र हेयर डिजाइनसम्बन्धी आधारभूत तालिम प्रदान गरिरहेका छौँ । साथै युएईमा पनि शाखा विस्तार गरेर काम अघि बढाएका छौँ,’ उनले भनिन् । शाहले प्रशिक्षार्थीले प्राप्त गरेको प्रमाणपत्र विश्वभरि नै मान्यता प्राप्त हुने बताइन् । ‘यही तालिमका लागि विदेशमा १० लाखसम्म खर्च गर्न पर्छ । तर, यहाँ धेरै सहुलियतमै प्रशिक्षण प्रदान गरिरहेका छौँ, यो तालिमपछि जुनसुकै देशमा पनि रोजगारीका लागि जान सकिन्छ,’ उनले भनिन् ।

विविध विधामा पुरस्कृत
नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा समेत गराइएको थियो । तालिममा सहभागी शिला सुब्बाले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । सौन्दर्य कला सम्बन्धी प्रश्नोत्तर र खेलमा निर्मला धामी, आशा ओली र शर्मिला तामाङ पुरस्कृत भएका छन् । छाला हेरचाह सम्बन्धी प्रश्नोत्तरमा सलिना मल्ल र शर्मिला तामाङ विजयी भए । अन्य दुई खेलमा रोजिना श्रेष्ठ र दीपिका श्रेष्ठ विजयी भए ।

उद्यमशील बन्ने अवसर
कार्यक्रमका सहभागीहरूले अन्तर्राष्ट्रियस्तरको तालिम लिएपछि नेपालमै उद्यमशील बन्न धेरै अवसर प्राप्त हुने बताए । सोनाम बरालले नेपालमा पर्याप्त सम्भावना भए पनि तालिम र प्रोत्साहन नहुँदा विदेशिनु पर्ने बाध्यता रहेको उल्लेख गरिन् । ‘ग्लो टु ग्लोबाट तालिम लियौँ, अझै राम्रोसँग काम गर्ने उर्जा मिल्यो, त्यसैअनुरुप काम पनि गरिरहेका छौँ ।

यो संस्थाले एउटा पुलको काम गरेको छ,’ बरालले भनिन् । ‘ग्लो टु ग्लो’ की संस्थापक शाहले नेपाली महिलाहरूको क्षमता विकासका लागि विश्वका विभिन्न देशमा विकास गरिएका डिजाइनलाई आधार बनाएर कोर्ष तयारी गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया