फिलिपिन्समा बाढी पहिरोमा परि ११० अझै बेपत्ता, अहिलेसम्म १६७ को मृत्यु

मनिला । फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको संख्या शनिबारसम्म १६७ पुगेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन् ।
उनीहरूको तीव्र रुपमा खोजी भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । ठूलो सङ्ख्यामा सुरक्षाकर्मी, उद्धारकर्ता, स्वयम्सेवकहरू र स्थानीय बासिन्दा परिचालन गरेर खोजी कार्य भइरहेपनि उनीहरू जीवित पाइने आशा क्षीण रहेको जनाइएको छ । मेगीबाट सबैभन्दा प्रभावित लेटेको मध्य प्रान्तमा विनाशकारी पहिरोले खेती र माछा मार्ने समुदायका थुप्रै घरहरू भत्काएको छ ।
यस वर्ष फिलिपिन्समा शक्तिशाली आँधीले केही दिनमा हजारौँलाई विस्थापित गरेको छ भने ठूलो जनधनको क्षति भएको छ । प्रकोपले ग्रस्त यस क्षेत्रलाई सन् २०१३ मा ‘सुपर टाइफून हाइयान’ ले प्रत्यक्ष प्रभावित पारेसँगै यहाँ हरेक वर्ष आँधीले तहसनहस पारेको छ ।
जलवायु परिवर्तनको कारण विश्वव्यापी तापमान वृद्धि हुँदै गएपछि वैज्ञानिकहरूले यहाँ अझ शक्तिशाली आँधी आउने चेतावनी दिएका छन् । अबियोग नगरपालिकाका विपत् व्यवस्थापन कर्मचारीले मङ्गलबार गएको पहिरोले बगाएको पिलारको तटीय गाउँबाट शुक्रबार पनि दर्जनौँ शवहरू पुरिएको अवस्थाबाट निकालेका बताइएको छ ।
घटनास्थलमा राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि स्थलगत अवलोकन गर्नु भएको छ । उनले खोजी तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै पीडितहरूलाई उचित राहत तथा क्षतिपुर्तिको व्यवस्था गरिने प्रतिवद्धता जनाए । रासस/एएफपी
प्रतिक्रिया