अनटेस्टेड मिसाइल ‘राजेन्द्र लिङ्देन’

काठमाडाैं । राप्रपाले चुनावी अभियानलाई तीव्र बनाएको छ । राप्रपाको आमसभा, जनसभा र शक्ति प्रदर्शन नेपालमा अस्तित्वमा रहेका कुनै पार्टीभन्दा कम छैन ।
विडम्बनाका साथ भन्नुपर्छ राप्रपा राष्ट्रिय पार्टीसमेत होइन । एक मात्र सिट जितेको राप्रपा संघीय संसद्मा स्वतन्त्र भूमिकामा छ । अर्थात् राप्रपाको संसदभित्रको भूमिका र हैसियत स्वतन्त्र उम्मेद्वारले प्रतिनिधिसभा सदस्य जितेर आए जतिमात्र हो । संघीय संसदभित्र नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अस्तित्वमा छन् । उनीहरुले निर्वाचन आयोगले भनेको थ्रेस होल्ड कटाए र आफ्नो पार्टीको अस्तित्व बचाए । लोसपा र नेकपा एस भने फुटेर अस्तित्वमा आएका पार्टी हुन् ।
राप्रपाका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देन भने संसदभित्र स्वतन्त्र भूमिकामा छन् । यसको मतलव २०७४ को निर्वाचनमा राप्रपाले थ्रेस होल्ड नै कटाएन् । राप्रपाले ३ प्रतिशत मतसमेत नल्याउँदा राप्रपाको अस्तित्व संसद् भवनमा स्वतन्त्रको हैसियतमा पुगेको हो । तर यसपटकको निर्वाचनमा भने राप्रपाको बीउ जोगाउने राजेन्द्र आफैंले पार्टीको कमान्ड सम्हालेका छन् । उनले चुनावी अभियान तीव्र बनाउँदै लगेका छन् भने राष्ट्रिय पार्टी मात्र बन्ने ध्यानमा होइन उनी वैकल्पिक शक्ति बनाउने सपना जनतालाई सुनाएर घरदैलो पुगिरहेका छन् ।
यसपटक राप्रपाको चुनावी अभियान र आमसभा हेर्दा राप्रपाको पक्षमा खुलेर वकालत गर्नेको संख्या ह्वातै बढेको छ । यसको एकमात्र कारण राजेन्द्र ‘अनटेस्टेड मिसाइल’ हुन् । उनले पार्टीबाट लाभ लिएर एकपटक पनि मन्त्री बनेका छैनन् भने उनी अध्यक्ष भएदेखि नै राप्रपाको माग पूरा नभई दायाँबायाँ नगर्ने बताइरहेका छन् । भ्रष्टचार गर्नु आमाको रगत खाएसरह हो भन्ने लिङ्देनको पक्षमा युवाहरु खुलेर लागेका छन् । उनले एकपटक मात्रै आफूलाई विश्वास गरिदिन अनुरोध गर्दै हिँडेका छन् ।
यता राजनीतिक विश्लेषकहरुले पनि राजेन्द्रको उदयलाई अर्थपूर्ण रुपमा हेरेका छन् । उनीहरुले वैकल्पिक शक्तिका रुपमा राजेन्द्र उदाउने ठोकुवा गर्छन् । एक विश्लेषकले भने, ‘राजेन्द्रको उदय नेपाली कांग्रेस र नेकपा एमालेका लागि टाउको दुखाइको विषय बन्दै छ । उनले अब आफ्नो पार्टीलाई नेकपा एमाले र नेपाली कांग्रेसपछि उभ्याउँदै छन् । सुन्दा नमिठो लाग्ला तर अबको राजनीतिको चाबी लिङ्देनको हातमा जाँदै छ । अर्थात राजेन्द्र एमालेसँग मिले एमालेको सरकार बन्छ कांग्रेससँग मिले कांग्रेसको सरकार बन्छ ।’
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्डलाई बिर्सिनु भएन नि भन्ने प्रश्नमा ती विश्लेषकले भने, ‘बिर्सिएको होइन तर अबको ५-६ वर्ष पर्खनुस् उहाँहरुलाई कसैले सम्झनु पर्दैन । अब उनीहरुको अस्तित्व ओरालो लाग्ने तरखरमा छ । उनीहरु कांग्रेसबिना चुनाव लड्न सक्ने हैसियतमा अहिले नै छैनन् । जनताले विश्वास अब गर्दैनन् भनेर प्रचण्ड र माधवलाई मज्जाले थाहा छ । त्यही भएर उनीहरु कांग्रेसको साथ खोजिरहेका छन । अबको पार्टी भनेका कांग्रेस, एमाले र राप्रपा नै हो ।’
राप्रपाको अध्यक्षमा कमल थापाले पराजय बेहोरेपछि राप्रपामा पुनर्जीवन आएको छ। अहिले युवाहरु राप्रपा प्रवेश गर्ने मात्र होइन व्यक्तिगत रुपमा राजेन्द्रको फ्यान बनेका छन् । युवाहरु अनटेस्टेड मिसायल भएका कारण नै राजेन्द्रप्रति आकर्षित भएका हुन् । अन्य पार्टीलाई पटकपटक विश्वास गर्दा धोका भएको तर राप्रपाका लिङ्देनलाई अहिलेसम्म परीक्षण नै नगरिएको उनीहरु बताउँछन् ।
कुनै पनि देशले मिसाइल आफ्नो सुरक्षाका लागि र भैपरी आउँदा दुस्मनलाई आक्रमण गर्नका लागि बनाउँछन् । राजेन्द्रलाई पनि स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहले नै बनाएको एक विश्लेषक बताउँछन् । उनले भने, ‘एमालेमा केपी ओली पराजित भएनन् कांग्रेसमा शेरबहादुर देउवा पराजित भएनन् । तर सँगसँगै भएको महाधिवेशनमा राप्रपाको जिम्मेवारी युवाको काँधमा गएको हो । राप्रपामा सद्भाव र समर्थन पूर्वराजाको हुनु स्वभाविक भएको लिङ्देन स्वयं स्वीकार्छन् ।’
पूर्वराजालाई कमल थापाले पटकपटक धोका दिएको उनले बताए । ती विश्लेषकले भने, ‘उनले पद पाएपछि राजा त के पार्टीको विचार मार्गदर्शनमा अडिग हुन सकेनन् । उनले कसैको कुरा सुनेनन् । एक पटक २५ सिट भएको राप्रपा यसपटक राष्ट्रिय पार्टीसमेत बन्न सकेन । पूर्वराजाले यो कुरा बुझेर थापाप्रति जनताको सहानुभूति छैन, किन कि उनले पदलोलुपको मार्गदर्शन समाए । त्यही भएर राजाले अनटेस्टेड मिसाइल वा परीक्षण नगरिएको युवालाई नेतृत्वमा ल्याए । थापाले भन्ने गरेको सत्य नै हो निर्मल निवासबाट अप्रत्यक्ष रुपमा हस्तक्षेप भएकै हो तर पूर्वराजाले पनि विश्वासघातिलाई कति बोकेर हिँड्ने भनेर थापालाई पाखा लगाइदिए ।
लिङ्देन २०७४ को निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएका एक युवा हुन् । उनले देशभर राप्रपा पराजित हुँदा बलिया प्रतिस्पर्धी मानिएका कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै पार्टीको शाख जोगाएँ । उनले राप्रपालाई नयाँ जीवन दिने भन्दै राप्रपाको अध्यक्षमा लडे र विजयी बने । सबै पार्टीको नेतृत्व ७० कटिसकेकाले गरिरहँदा र राप्रपाको नेतृत्व एक युवाको काँधमा गएर पनि उनको चर्चा परिचर्चा व्यापक भएको हो । उनले सुरुदेखि नै भ्रष्टचारविरोधी भनेर आफूलाई चिनाए अझै भएन आफूले एक पैसा भ्रष्टचार गरेको भनेर प्रमाणित गर्न चुनाैती नै दिने गरेका छन् । उनले राप्रपाका उम्मेदवालाई भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्र टिकट दिने बताउँदै आएका छन् ।
सकिसकेको राप्रपालाई नयाँ जीवन दिएका लिङ्देनले केन्द्रको राजनीतिमा प्रवेश गरेको ५ वर्षमै पार्टीको कमान्ड हत्याउन सफल भए । उनले जनतामाझ मात्र होइन २ दशक बढी राप्रपाको नेतृत्व गरेका थापालाई हराएर राप्रपाका महाधिवेशन प्रतिनिधिबीच पनि राम्रो छाप छोडेको बुझ्न सकिन्छ । महाधिवेशन प्रतिनिधिले थापालाई लात हानेर लिङ्देनलाई पार्टी हाइकमान्ड सम्हाल्ने अवसर मात्र दिएनन् फेरि एकपटक राप्रपालाई लोकप्रिय बनाउने भनेर राजेन्द्रको मार्गदर्शनमा हिँडे ।
लिङ्देनले माओवादी केन्द्र र नेकपा एसलाई जितेर तेस्रो शक्ति बन्दै छन् भन्दा विश्वास गर्न नै गाह्रो हुन्छ । तर अहिले उनको बढेको लोकप्रियता र उनको चुनावी अभियानमा लगाव हेर्ने हो भने उनलाई विश्वास गर्न कठिन भने पक्कै हुँदैन । २०६४ मा कसैले विश्वास नगरेको मत ल्याउँदै माओवादी पहिलो बन्यो २०७४ कै निर्वाचनमा कांग्रेसले संघीय संसद्तर्फ एकचाैथाइ सिट ल्याउन सकेन । त्यही भएर सजिलै अनुमान लगाउन सकिन्छ नेपाली राजनीतिमा कसैको उदय र अन्त्य आम बुझाइभन्दा फरक हुन्छ । तर राजनीतिले यस्तो कोल्टे फेर्यो हारको जिम्मेवारी लिनुपर्ने देउवाले प्रधानमन्त्री कम्युनिस्टको लडाइँका कारण उपहारमा सत्ता पाए । यता कांग्रेस इतिहासमा नमिठो गरी पराजित हुँदासमेत कांग्रेसका महाधिवेशन प्रतिनिधिले देउवालाई नै अनुमोदन गरे ।
राजेन्द्रले अहिलेको लोकप्रियतालाई बचाएर अघि बढ्न सके उनको उदय चाँडै हुँदै छ । तर माैका पाएपछि उनी पनि कमल थापाजस्तो पदलोलुपताको बाटोमा हिँडे आज उनका समर्थकहरुले भोलि ढुंगा हान्ने निश्चित छ ।
अन्य पार्टीको खस्कँदो लोकप्रियताई उनले बुझेर अगाडि बढ्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । उनले कुनै पनि पार्टीसँग मिलेर चुनावमा जानुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपनर्ने विश्लेषकहरु बताउछन् । स्थानीय निकायमा राप्रपाले कम्ति सिट जिते पनि अहिलेको झै चुनाव प्रचार गर्ने हो भने संघीय चुनावसम्म राप्रपाको लोकप्रियता झन बढ्ने बताइएको छ । तर कमल थापाले जस्तो पार्टीको अस्तित्व नै समाप्त पारेर- ‘आफ्नो चुनाव चिह्न जनतालाई थाहा छैन त्यहीभएर अन्य पार्टीको चुनाव चिह्नमा चुनाव लड्यौं’ भन्ने हो भने लिङ्देन पनि थापाजस्तै कहिले नउठ्नेगरी पक्कै पनि पछारिनेछन् ।

प्रतिक्रिया