बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरुलाई सम्मान

नेपालखोज २०७९ वैशाख ४ गते १६:२५

काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरुलाई सम्मान गरेको छ ।काठमाडाैंमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहकोसाथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजलगायतको टोलीलाई सम्मान गरेको हो ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले साह सम्मिलित सेफ टीमलाई सम्मान गरेका थिए । सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार) लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए ।

उनले यस कार्यले नेपाली परिकारहरु विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताए । उनले सन्तोषसहित टिमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले नेपाली पकवान पर्यटनलाई थप टेवा पुर्‍याएको बताए ।

सेफ सन्तोष साहले नेपाली खानालाई विश्व मञ्चमा पुर्‍याउन पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको बताए । सेफ साहले आफ्नो साथमा आएको टीमलाई पुनः नेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न आग्रह गरे ।

त्यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफूहरु नेपाल घुम्न, यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताए । उनहरुले नेपाल साच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिँदै नेपाल सबैका लागि प्रिय देश रहेको बताए ।

प्रतिक्रिया