श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा भोलीदेखि धर्ना

नेपालखोज २०७९ वैशाख ४ गते २०:१९

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा भोलिदेखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो ।

श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा संवादमार्फत् समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनु परेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।

उनले श्रमजीवि पत्रकारहरु र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हटन नसक्नेसमेत स्पष्ट पारे । महासंघका अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुले श्रम शोषण भएको लिखित जानकारी महासंघमा रेकर्ड गराएको उल्लेख गर्दै उनीहरुको माग सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

महासंघले प्रेस स्वतन्त्रता विरोधी खालका कतिपय ड्राफ्ट भएको कानुनहरुको विरोधमा सरकारसँग पनि आन्दोलन जारी रहेको र त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आएको छ ।

प्रतिक्रिया