कोभिड प्रभाव : अमेरिकामा आन्तरिक विस्थापन कहाँ-कति ?

न्युयोर्क । कोभिडको महामारी आफ्नो उत्कर्षमा रहेका बेला (२०२० को मध्य देखि २०२१ को मध्यसम्म) अमेरिकाका ठूला सहरमा बसोबास गर्ने लाखौं मानिस ती सहर छाडेर साना सहरतर्फ बसाइँ सरे । हेरौं अमेरिका को सेन्सस ब्युरो को एउटा ताजा रिपोर्ट :
न्युयोर्कबाट पलायन
अमेरिकामा भएको आन्तरिक पलायनमा न्युयोर्क सबैभन्दा माथि रह्यो । कोरोना महामारीबीच न्युयोर्कका लगभग ३,२८,००० नागरिक पलायन भए । ती मानिस अमेरिकाकै अर्को ठाउँमा गएर बसेको बताइन्छ । न्युयोर्क सहरमा संसारभरका मानिस बसाइँ सरेर आए पनि र मर्नेहरुभन्दा जन्मनेहरु बढी भए पनि यो सहरको जनसंख्या घटेर १.९७ करोड कायम भयो जसको कारण आन्तरिक पलायन नै थियो ।
लसएन्जलस पनि उस्तै
यो सूचीको दोस्रो नम्बरमा रह्यो लसएन्जलस, जसले लगभग १,७६ ,००० नागरिक गुमायो । पलायनका कारण यो सहरको जनसंख्या घटेर १.२९ करोडमा झर्यो ।
राजधानी वसिंटन पनि
अमेरिकाको राष्ट्रिय राजधानी वसिंटन डीसीको मेट्रो इलाकाबाट करिब २९,००० मानिस पलायन भए र यो सहरको जनसंख्या घटेर ६३ लाख भयो ।
घट्यो फिलाडेल्फिया
ग्रेटर फिलाडेल्फियाको जनसंख्यामा १३,००० मानिस कम भए र सहरको जनसंख्या घटेर ६२ लाख भयो । यसमा तीन-चौथाइबराबरको कमी मानिसहरुले सहर छाडेका कारण आएको थियो ।
मायामीले गुमायो नागरिक
ग्रेटर मायामीको जनसंख्यामा ३४,००० भन्दा बढीले कमी आयो । यो सहरको जनसंख्या ६० लाख छ ।
छनोटमा ड्यालस
न्युयोर्क र लसएन्जलसजस्ता सहर छोडेर कुनै नयाँ ठाउँमा जानेहरूबीच सबैभन्दा लोकप्रिय विकल्प रह्यो- ड्यालस । यो सहरको जनसंख्या ९७,००० जस्तो बढ्यो र कुल जनसंख्या बढेर ७७ लाख भयो । यो वृद्धिमा दुई-तिहाइ योगदान अरु सहरबाट बसाइँ सरेर आएकाहरुको रह्यो ।
फिनिक्स रह्यो लोकप्रिय
ग्रेटर फिनिक्स अर्को लोकप्रिय विकल्प साबित भयो । यो सहरमा ७८ हजार मानिस थपिए जसमा धेरै जसो अन्य सहरबाट बसाइँ सरेर आएका मानिसहरु थिए । अब यो सहरको जनसंख्या बढेर ४९ लाख पुगेको छ ।
ह्युस्टन पनि फाइदामा
ह्युस्टन आन्तरिक बसाइँसराइका लागि तेस्रो लोकप्रिय विकल्प साबित भयो र यो सहरले ६९,००० नयाँ नागरिक प्राप्त गर्यो । यसमा आधाजसो नयाँ जन्मनेहरु थिए भने आधा आन्तरिक आप्रवासी । अहिले यो सहरको जनसंख्या ७२ लाख पुगेको छ ।
एटलान्टामा पनि
एटलान्टामा ४३ हजार मानिस थपिएर सहरको जनसंख्या ६१ लाख पुग्यो । थपिएका नयाँ नागरिकमा ६० प्रतिशत अन्य सहरबाट आउनेहरु थिए ।
-एपीको रिपोर्टमा आधारित
प्रतिक्रिया