चितवनमा एक लाख ७४ हजार १० जना बालबालिकाले लगाए टाइफाइडकाे खोप

काठमाडौं । चितवनमा टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन्। सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो। गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अभियान वैशाख ४ गते सकिएको छ ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ जना र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा आठ हजार ८०४ जना, रत्ननगर नगरपालिकामा २० हजार ५६२ जना, राप्ती नगरपालिकामा १५ हजार ८६३ जना, कालिका नगरपालिकामा १२ हजार ५५जना र इच्छाकामना गाउँपालिकामा सात हजार २२४ जना बालबालिकालाई खोप लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् । सो अभियानमा ५४० खोप केन्द्रबाट खोप दिइएको हो ।
टाइफाइडको समस्या बढीमात्रामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाइएको उनले जानकारी दिइन् । दूषित खानेपानी र दिसापिसाब गरिसकेपछि साबुन पानीले हात नधोइ खानेबानी बालबालिकामा बढी हुने भएकाले यो रोगबाट बढीमात्रामा बालबालिका प्रभावित हुने गरेका छन् ।
रोग प्रति एक लाख जनसंख्यामा एक हजार ६२ जनामा संक्रमण देखिने गरेको छ । १५ वर्ष मुनिका बालबालिका एक लाखमा एक हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उनले बताइन् । -रासस
प्रतिक्रिया