गठबन्धन बैठक टुंगोमा पुगेन- पोखरामा कांग्रेसले दाबी छाडेन, ६ उपमहानगरमा पनि अडान

नेपालखोज २०७९ वैशाख ५ गते १८:५६

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक भागबण्डा टुंगो नलगाई स्थगित भएको छ । सोमबार दोस्रोपटक बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आ-आफ्नै दाबी रहेको कारण सहमति नभएको हो ।

बैठक मंगलबार बिहान फेरि बस्नेगरि स्थगित भएको हो । बैठक मंगलबार पुनः बसेर सहमति जुटाउन प्रयास हुने बताइएको छ। गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ, एकीकृत समाजवादीबाट माधव नेपाल, वेदुराम भुसाल, विजय पौडेल, जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, जनमोर्चा हिमाल पुरीलगायत सहभागी थिए ।

आज बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ-आफ्नै दाबी पेश गरेका थिए । महानगर र उपमहानगरमा दलहरुले आ-आफ्नै दाबी नछोडेपछि ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको थियो । यसअघि आइतबार बेलुकी ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँटको खाका बनेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा पोखरा महानगरपालिका र केही उपमहानगरपालिकाको प्रमुख कसले लिने भन्नेमा कुरा मिल्न नसकेको हो ।

कांग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा दाबी यथावत राखेको छ । एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ । पोखरामा समाजवादीले दावी यथावत राखेपछि तत्कालै पोखराबारे निर्णय नलिने विषयमा पनि गठबन्धनमा छलफल भएको छ । पोखरामा अहिले कांग्रेस र समाजवादी दुवैले दाबी गर्ने र मनोनयन दर्ता गर्ने बेलासम्म जसको माहोल राम्रो देखिन्छ उसैले लिनेगरी मध्यमार्गी प्रस्तावमा पनि छलफल भएको बताइएको छ ।

नेताहरुले बैठक सकारात्मक भएको जिकिर गरेपनि कुनै ठोस सहमति भने भएन । बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भएपनि सहमति जुट्न सकस भएको हो ।

प्रतिक्रिया