सत्ता गठबन्धनको बैठक सारियो, दिउँसो दुई बजे बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक सारिएको छ । बिहान साढे ११ बजे बस्ने भन्ने बैठक दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने भएको छ । गठबन्धनका नेताहरु आ-आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
तालेमेलको मोडालिटी तयार गर्ने सन्दर्भमा तयारी नपुगेको भन्दै ११:३० मा बस्ने भनिएको बैठक मंगलबार दिउँसो २ बजेका लागि सरेको हो ।यसअघि सोमबार बसेको गठबन्धनको बैठकमा महानगरपालिकाको भागबन्डाको विषयमा कुरा मिल्न सकेको थिएन। पोखरा महानगरपालिकाको भागबन्डालाई लिएर गठबन्धनका दलहरुबीच विवाद छ।
पोखराको मेयरमा गठबन्धनका २ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्। ६ महानगरमध्ये अन्यमा भागबण्डा मिलिसकेको बताइए पनि पोखराका कारण टुंगोमा पुग्न सकेको छैन। पोखरा महानगरको विषयमा छलफल गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन्।
देउवाले कास्की जिल्ला सभापति किशोरदत्त बराललाई काठमाडौं बोलाएका हुन् । बराल नेतृत्वको टोली काठमाडौं आइपुग्दै छ । उनीहरुसँग छलफल गरेपछि गठबन्धनमा छलफल गरेर सहमति जुटाउने प्रयास भएको देउवा निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया