माधव र प्रचण्डले हामी सानो हुन्छाैं भनेकाले गठबन्धन गर्न लागिएको हो : प्रधानमन्त्री देउवा

नेपालखोज २०७९ वैशाख ६ गते १३:२९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए ।

गठबन्धन टुटेमा कम्युनिस्ट पार्टीहरु एमालेसँग मिल्न जाने देउवाको चिन्ता छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने स्पष्ट पारेका छन् । उनले भने ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन । त्यसकारणले कसैसँग त गठबन्धन गर्नैपर्यो । कांग्रेस ठुलो होस् हामी सानो नै हुन्छौं भनेका छन् उनीहरुले अनि मैले के गल्ती गरेँ ।’

उनले गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्दै आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए । उनले भने, ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोलि ।’

उनले कांग्रेसको एकलाैटी बहुमत नआउनले समेत स्पष्ट पारे । उनले भने, ‘हामीले गठबन्धन टुटाउने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिले भने हाम्रो के अवस्था होला ? पहिला (२०७४)को जस्तै होला। अहिले एकलौटी रुपमा बहुमत आउने सम्भावना छैन।’

अहिले कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सम्भव नभएकाले गठबन्धन गरिएको देउवाको तर्क छ। उनले भने, ‘पहिला ओलीलाई हटाउन भनियो उनलाई हटाइयो। गठबन्धनमाा गिभ एन्ड टेक हुन्छ। गठबन्धनमा आउनेले पनि पाउने आस गरेको हुन्छ नि। उनीहरुले हामीलाई ठूलो पार्टी हुनुस् भनेको छ र हामी पनि सानो पार्टी बन्छौं भनेका छन्। यसमा के गलत छ?’

अहिले २ बजे बस्ने गठबन्धन बैठकअघि देउवाको यस्तो धारणा सार्वजनिक भएको हो। देउवाको यो भनाईसँगै गठबन्धन बन्ने पक्कापक्की भएको छ। देउवा गठबन्धन जोगाउने रणनीतिमा लागेको स्पष्ट भएको छ । उनले असन्तुष्ट पक्षलाई मनाएर गठबन्धन अघि बढाउने बताइएको छ। कांग्रेस हदैसम्म लचक भएर गठबन्धन गर्न तयार भएको हो ।

महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक भने सरेको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली कांग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

तालेमेलको मोडालिटी तयार गर्ने सन्दर्भमा तयारी नपुगेको भन्दै ११:३० मा बस्ने भनिएको बैठक मंगलबार दिउँसो २ बजेका लागि सरेको हो।यसअघि सोमबार बसेको गठबन्धनको बैठकमा महानगरपालिकाको भागबण्डाको विषयमा कुरा मिल्न सकेको थिएन। पोखरा महानगरपालिकाको भागबन्डालाई लिएर गठबन्धनका दलहरुबीच विवाद छ।

पोखराको मेयरमा गठबन्धनका २ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्। ६ महानगरमध्ये अन्यमा भागबन्डा मिलिसकेको बताइए पनि पोखराका कारण टुंगोमा पुग्न सकेको छैन । पोखरा महानगरको विषयमा छलफल गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन्।

६ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर लिने सहमति भएको छ। त्यस्तै, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्ज लिने सहमति भएको छ।

गठबन्धनका दलहरुबीच केही उपमहानगरपालिकाको भागबण्डामा पनि सहमति हुन सकेको छैन।

प्रतिक्रिया