सबै दललाई आफ्नो चिह्नबाट निर्वाचनमा भाग लिन दिने बोल्ड निर्णय गर्याैं : दिनेशकुमार थपिलया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंकको सहयोगमा निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा उनले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सुधारका पहल लिइएको र उक्त सुधारका प्रयत्नलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति देखिएको बताए ।
प्रमुख आयुक्त थपलियाले आयोगले मनोगत आधारमा भन्दा पनि सरोकारवालासँगको छलफलका आधारमा सुधारका विषयलाई कार्यान्वयनमा ल्याइएको प्रस्ट पारे । उनले भने, ‘कुनै परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहजै पचाउने, कुनै नयाँ कार्यका थालनी गरियो भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्ने प्रवृत्तिका कारण निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले बढाउनका लागि कहीँकतै असहज र अप्ठ्यारो भएको महसुस भएको छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा ३८ (४) मा उल्लेख गरिएको महिला सहभागिता र धारा ४२ मा उल्लेखित सामाजिक न्यायको व्यवस्था निर्वाचनको समयमा क्रियाशील हुन सक्यो भने निर्वाचनमा महिला प्रतिनिधित्व सहभागिता र समावेशिताको दृष्टिले उपयुक्त हुन्छ भनेर राजनीतिक दललाई निर्देशन दिने काम गरिएको बताए । उनले भने, ‘हामीले स्थानीय तहको निर्वाचन एकै दिन एकै चरणमा गर्ने निर्णय गर्यौँ, २०४८ सालपछिका निर्वाचन एकै चरणमा एकै दिन सम्पन्न भएका छैनन् । यसले निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षतामा राम्रो नतिजा दिन सक्छ ।’
राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई ती दलको निर्वाचन चिह्नबाट निर्वाचनमा भाग लिन दिने प्रष्ट कानुनी आधार नभए पनि आयोगले ती दललाई पनि निर्वाचनमा सहभागी हुन दिनुपर्छ भनेर जोखिम उठाएको उनले बताए । उनले भने, ‘यो हामी (आयोगको टिम) ले गरेको नयाँ निर्णय थियो ।’
उनले निर्वाचन महँगो, खर्चिलो र भड्किलो हुँदै गएको र यसबाट सिद्धान्त र विचारभन्दा पनि सम्पत्ति र स्रोत साधनले निर्वाचन प्रभावित हुने खतरा बढेको बताए । उनले निर्वाचनमा हुने सबै खर्चलाई सीमाभित्र आबद्ध गरौँ भनेर निर्वाचन खर्चको सीमा तोकिएको समेत प्रस्ट पारे । निर्वाचन आचारसंहिता प्रभावकारीरुपमा कार्यान्वयन होस् भनेर सबै पक्षसँगको सुझावका आधारमा आचारसंहिता जारी गरिएको बताउँदै उनले सबै पक्षको सहभागितामा आचारसंहिताको अनुगमन गरिने जानकारी गराए ।
आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै उनले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमसँग आग्रह गरे । उनले भने, ‘सञ्चारमाध्यमले व्यावसायिकता, विश्वसनीयता, निर्भिकता र नागरिक दायित्व पूरा गर्न अग्रसर हुनुपर्छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव गरिएको जानकारी दिए ।उनले भने, ‘निर्वाचनको मौन अवधि भनेको चुप लागेर बस्ने अवधि हो । हामीले त्यसलाई बढी चलायमान हुने अवधि हो भनेर बुझिदिँयौँ, यसमा फेरबदल गर्यौँ, यसमा चलायमान गर्ने विविध तत्व हुन्छन्, मापदक पदार्थको बिक्री वितरण र सेवनले मान्छेलाई चलायमान गराउँछ । मौन अवधि जारी भएपछि देशभरि नै मादक पदार्थको बिक्री वितरण र सेवनलाई निषेध र नियन्त्रण गरौँ भन्ने प्रस्ताव अगाडि सारिएको छ ।’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्ण पालना गर्न सञ्चारजगत्लाई आग्रह गरे । उनले भने, ‘आचारसंहिताको बन्धनभित्र बस्ने सबैको दायित्व हो, तोकिएको समयमा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्छ । पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लंकन भएमा निर्वाचन सम्पन्न गर्न सहयोग पुग्दैनन्, सबैले आचारसंहिताको दायराभित्र बसौँ, आफूमाथि प्रश्न उठ्ने अवस्थाको अन्त्य गरौँ, तब मात्र अरूसँग प्रश्न उठाउन सकिन्छ ।’
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मतदानस्थलसम्म मतदातालाई लैजाने र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए । स्वतन्त्र, निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु सञ्चारमाध्यमको पनि कर्तव्य भएको उल्लेख गर्दै उनले समाचार सम्प्रेषणका क्रममा पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पालना गर्न आग्रह गरे । उनले भने, ‘पत्रकारले निष्पक्षता र तटस्थताको पूर्णपालना गर्नुपर्छ, जनमत निर्माणका लागि आवश्यक विषयवस्तुको प्रसारण गर्नुपर्छ । पत्रकारहरुले कुनै पक्षविपक्षमा नलागी स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्छ, तटस्थताको उच्च नमूना प्रदर्शन गर्न पत्रकार क्रियाशील हुनुपर्छ ।’
कार्यक्रममा फोटो पत्रकार, अनलाइन मिडियाका पत्रकार र निर्वाचन विधामा समाचार लेख्ने पत्रकारलाई निर्वाचन आचारसंहिता, विषयवस्तुको उठान, समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्नेलगायत विषयमा अभिमुखीकरण गरिएको थियो । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले ‘निर्वाचन आचारसंहिता, २०७८ कार्यान्वयन र फोटो पत्रकारसँगको सहकार्य’, फोटो पत्रकार विकास रौनियारले ‘निर्वाचनको समयमा फोटो पत्रकरिताः विगत र वर्तमान’ तथा फोटो पत्रकार विकास कार्कीले ‘निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन, रिपोर्टिङ र फोटो पत्रकारिता’ विषयमा प्रस्तुति दिएका थिए ।
प्रेस काउन्सिलका सदस्य ठाकुर बेलबासेले ‘निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम तथा निर्वाचनमा तिनले पार्न सक्ने प्रभाव’, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपालले ‘निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन र रिपोर्टिङ’ तथा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले ‘निर्वाचन आचारसंहिता, २०७८ को कार्यान्वयनमा अनलाइन मिडिया र सामाजिक सञ्जालसँगको सहकार्य’ विषयमा प्रस्तुति दिए ।
यस्तै वरिष्ठ पत्रकार हरिबहादुर थापाले ‘निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन र रिपोर्टिङ’ आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले ‘निर्वाचन आचारसंहिता, २०७८ र सञ्चार क्षेत्र’ तथा विज्ञ किरण चापागाईं ‘निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम तथा निर्वाचनमा तिनले पार्न सक्ने प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।-रासस

प्रतिक्रिया