बुधबार, जेठ १, २०८२

गैरआवासीय नेपाली संघले नवौं राष्ट्रिय खेलकुदमा भाग लिने

नेपालखोज २०७९ वैशाख ६ गते १६:२३

काठमाडौं । गण्डकी प्रदेशमा जेठ २२ गतेदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवासीय नेपाली संस्था एनआरएनएले सहभागिता जनाउने भएको छ ।

यसअघि तत्कालिन प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको थियो । ६ खेलमा सहभागीता जनाएको एनआरएनए स्पोर्टस एकेडेमीले यो संस्करणको प्रतियोगितामा कम्तिमा १८ खेलमा सहभागीता जनाउने गरी तयारी अगाडि बढाएको एनआरएनका खेलकुद सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए ।

उनले भने ‘विगतमा हामीले पटक पटक प्रतियोगिता सर्दा तयारी गर्न नपाएकाले थोरै खेलमा मात्रै सहभागिता जनाएका थियौं, यसपटक गण्डकी प्रदेशमा जेठ २२ गतेदेखि २८ गतेसम्म हुने प्रतियोगिता नसर्ने पक्का भएकाले हामी धेरै भन्दा धेरै एनआरएनए खेलाडीहरुलाई सहभागी गराउन चाहन्छौं ।’

एनआरएनए आफैमा नेपालीसँग जोडिने संस्था भएकाले नेपाललाई खेलकुदका माध्यमबाट विश्वभर चिनउनका लागि उच्च स्तरमा अभ्यास गरिरहेका दोस्रो पुस्ताका खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानको माध्यमबाट नेपाली राष्ट्रिय टिममा ल्याउने अभियानको रुपमा नवौं राष्ट्रिय खेलकुदलाई उत्कृष्ट माध्यमको रुपमा लिएको पनि एनआरएनएले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीका ११ जिल्लामा ३८ खेल सञ्चालन गर्ने गरि तयारी भइरहेको जनाएको छ । एनआरएनए स्पोर्टस एकेडेमीले अहिले आर्चरी, एथ्लेटिक्स, ब्याड्मिन्ट, बक्सिङ, चेस, क्रिकेट, फुटबल, जुडो, कराते, लन टेनिस, स्फ्ट टेनिस, स्वीमिङ, टेबल टेनिस, भलिबल, तेक्वान्दो, बास्केटबल, उसु र रग्बीमा सहभागिता जनाउने निश्चित भए पनि अरु खेलमा पनि सहभागिता जनाउने गरि तयारी भइरहेको पनि जनाएको छ ।

एनआरएनको पहुँच राष्ट्रिय खेलकुद परिषद राखेपमा पुग्न नसक्दा झण्डै प्रतियोगिताबाट बाहिरिएको थियो । तर एनआरएनको पहलका कारण यस पटक पनि विभागीय टिमकै रुपमा एनआरएनएले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छ। सदस्यसचिव गिरी र राखेपका बोर्ड सदस्य तथा एनआरएनएका मध्यस्तकर्ता एकेन्द्र कुँवरको पहलमा एनआरएनएले सहभागिता निश्चित भएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङ र एनआरएनएको तर्फबाट सदस्य सचिव गीरी, वोर्ड सदस्य कुँवर, प्राविधिक निर्देशक स्वयम्भू डंगोलबीच आज भएको छलफल पछि एनआरएनएको नवौं राष्ट्रियमा सहभागीता निश्चित भएको बोर्ड सदस्य कुँवरले जानकारी दिए । सन् २०१७ मा एनआरएनएको आईसीसी अध्यक्ष भवन भट्टको पालामा युवा तथा खेलकुद संयोजक सुदन थापाले राखेपका तत्कालिन सदस्य सचिव केशब विष्टसँग एनआरएनएलाई राष्ट्रिय खेलकुदमा सहभागिता गराउने सम्झौता गरेका थिए ।

प्रतिक्रिया