गठबन्धनमा सहमति जुट्यो, पोखरा एकीकृत समाजवादी र भरतपुर माओवादीको पोल्टामा पुग्यो

काठमाडाैं । नेपाली कांग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबन्डा टुंगिएको छ । यसअघि पोखरा महानगरमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबन्डा टुंगिन सकेको थिएन ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिनु आफ्नो बाध्यता भएको बताएका छन् । नेपाली कांग्रेसको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मासहित कास्की कांग्रेसका नेताहरूसँग देउवाले गठबन्धन जोगाउन समाजवादीलाई पोखराको मेयर छाड्नुपरेको बताएका हुन् । सभापति देउवाले कास्की कांग्रेसका नेताहरूलाई छलफलका लागि काठमाडौं बोलाएका थिए ।
पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार उठाउने सत्ता गठबन्धन दलहरुबीच सहमति बनेको हो। मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो सहमति गरेको हो । अन्य महानगरपालिकाको नेतृत्व कसले पाउने भन्ने विषयमा गठबन्धनका दलहरुले सोमबार नै करिबकरिब सहमति जुटाइसकेका थिए । तर पोखरा महानगरपालिकाको हकमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको थियो ।
सहमति अनुसार कांग्रेसले काठमाडौं, ललिपुर र विराटनगर महानगरको प्रमुखमा आफ्नो उम्मेदवार उठाउने छ। त्यस्तै, माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउने छ।
यसअघि काठमाडौं र पोखरामा एमाले, ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र र वीरगन्जमा जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले जितेका थिए । गठबन्धनको बैठकमा पोखरा एकीकृत समाजवादीलाई दिनुअघि देउवाले पोखराका नेताहरुलाई भेटेका थिए । त्यहाँ उनले गठबन्धन भएकाले सो महानगरको नेतृत्व एकीकृत समाजवादीलाई दिने संकेत गरेका थिए । त्यहाँ उनले गठबन्धनको बाध्यता बुझिदिन नेताहरुलाई आग्रह समेत गरेका थिए ।
देउवासँग भेटेका गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्माले जवाफमा गठबन्धन भए पनि पोखरामा कांग्रेस बाहेकको पार्टीले मेयर जित्न नसक्ने दाबी गरेका थिए । शर्माले पत्रकारहरूसँग भने ‘हामीले पोखराको तथ्यसहित कांग्रेसले पाउँदा मात्रै पोखरा जितिने दाबी राखेका छौँ । पोखरामा कांग्रेसले मेयर नपाए दुर्घटना हुन्छ भनेका छौँ । हाम्रो कुरामा उहाँ गम्भीर देखिनुभयो ।’
महानगरको प्रमुखमा सहमति जुटेको भए पनि उपप्रमुख र ११ वटै उपमहानगरपालिकाको विषयमा भने छलफल जारी रहेको छ । आजै महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको भागबन्डा टुंग्याइसक्ने सत्ता गठबन्धनको तयारी छ।

प्रतिक्रिया