पोखरेली नेता थापाले भने- कांग्रेसबाहेक गठबन्धनका अन्य दलले महानगर जित्दैनन्

नेपालखोज २०७९ वैशाख ६ गते १८:३८

काठमाडाैं । नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले पोखरा महानगरपालिकाको नेतृत्व कांग्रेसलाई दिनेमा आशंका रहेको बताएका छन् । मंगलवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेका कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता थापाले प्रधानमन्त्री देउवाले भेटमा सरकार गठबन्धनको भएकोले सबै पार्टीलाई समेटेर अघि बढ्ने अभिव्यक्ति दिएको बताए । उनले पोखरा महानगरपालिकाको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा आफूहरुको जोड रहेको पनि बताए । उनले आफ्नो पार्टीको धेरै मत रहेकोले गठबन्धनमा सहभागी दलहरुले पनि पोखरा महानगरमा कांग्रेसलाई स्थान दिनेमा आशावादी रहेको बताए ।

नेता थापाले नेपाली कांग्रेससँग महानगरमा ६५ हजार मत रहेको र सो मतलाई थोरै मत भएका चुनाव चिह्नमा लगेर खन्याउन नसक्ने स्पष्ट पार‍े । थापाले भने, ‘प्रधानमन्त्रीजी हामीले भनेको कुरामा सहमत हुँदाहुँदै पनि गठबन्धनका कुराहरु छन् । कतिपय कुराहरुमा हामीले सहकार्य गरेर अघि जानुपर्छ । गठबन्धनका अरु पार्टीहरुलाई पनि समेट्नुपर्ने दायित्व छ भन्नुभयो ।त्यसले कता कता आशंका त पैदा गर्छ तर पनि हामीले हाम्रो तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा कांग्रेसको नेतृत्व हुनुपर्छ भन्ने कुरा जोडदार रुपमा भनेका छौं । हामीले ६०/६५ हजार मत होल्ड गर्दछौँ । त्यो मत थोरै मत भएका चुनाव चिन्हमा लगेर खन्याउने कुरा ज्यादै अव्यवहारिक छ । हामीले गठबन्धन भत्काउनु पर्छ भनेका होइनौँ तर यो अव्यवहारिक कुरालाई सम्बन्धित पार्टीका नेतालाई पनि अवगत गराउन आग्रह गरेका छौँ ।’

नेता थापाले पछिल्लो समय पोखरा महानगरमा पार्टीमा ३९ हजार मतदाता बढेको र कांग्रेसको पक्षमा लहर आएकोले पनि कांग्रेसको नेतृत्वमा सहभागी भए निर्वाचन जित्न सकिने दाबी गरे ।

प्रतिक्रिया