गल्फमा रविको अग्रता (फोटो फिचर)

नेपालखोज २०७९ वैशाख ६ गते २१:२१

काठमाडौं । पूर्व नम्बर एक गल्फर रबि खड्का मंगलबारदेखी आयोजना भएको सूर्य नेपाल च्यालेन्जको पहिलो दिन २ स्ट्रोकको अग्रता लिँदै शीर्षता कायम गरेका छन् । रोयल नेपाल गल्फ कोर्स, एयरपोर्टमा रबि खड्काले मंगलबार ६ अन्डर ६२ को सानदार प्रदर्शन गर्दै सुर्य नेपाल च्यालेन्जको‌ पहिलो दिन २ स्ट्रोकको अग्रता सहित शीर्षता कायम गर्न सफल भएका हुन ।

प्रतियोगिताको पहिलो दिन रबिले दीपक मगर र भुवन कुमार रोक्कालाई दुई स्ट्रोकले पछि पार्न सफल भएका हुन । रबिले फ्रन्ट नाइन बोगी रहित खेलेका हुन । पहिलो, दोस्रो, चौथो र पाँचौ होलमा बर्डीको सफलता प्राप्त गरे । फ्रन्ट नाइन ४ अन्डर ३० मा सकाएका थिए । त्यसपछि १४ औ‌ होलमा एक सट खेर फाले भने दशौ, सत्रौ र अठारौ होलमा‌ एक एक सट बचाएर ब्याक नाइन दुई अन्डर ३२ स्कोर गर्दै ‌उत्कृष्ट सुरुवात गरे ।

उता भेट्रान गल्फर दीपक मगर र भुवन कुमार रोक्का चार अन्डर ६४ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् । नम्बर एक गल्फर भुवन नगरकोटी र सुर्य प्रसाद शर्माले ३ अन्डर ६५ सहित चौथो स्थान बाडे । एमेच्योरतर्फ दुई अन्डर ६६ को स्कोरमा सुबाश तामाङ शीर्षस्थानमा छन् ।

७२ होलको चार दिने प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाएका छन् । ३६ प्रोफेसनल र २० एमेच्योर खेलाडीको सहभागिता रहेको छ । कुल ५ लाख ४५ हजारको पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया