कसले कहाँ उम्मेदवारी दिने ? (सूचीसहित)

नेपालखोज २०७९ वैशाख ७ गते १९:३३
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाहरुको भागबन्डा टुंग्याएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डा गरेको हो ।

भागबन्डाअनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख पाएको सञ्चार तथा सुचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । त्यसैगरी कांग्रेसले विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा भने उपप्रमुख पाएको छ ।

त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसिपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा कांग्रेसले नै प्रमुख पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकाको उपप्रमुख पनि कांग्रेसलाई दिइएको मन्त्री कार्कीले बताए ।

भागबन्डाअनुसार नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिकाको प्रमुख पाएको छ भने, ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ । त्यसैगरी जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख पाउनुका साथै धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुख पाएको मन्त्री कार्कीले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी)लाई पोखरा महानगरपालिकाको प्रमुख दिइएको छ भने, काठमाडौं महानगरपालिकाको उपप्रमुख दिइएको छ । त्यस्तै हेटौडा उपमहानगरपालिकाको प्रमुख र इटहरी, बुटवल र तुलसिपुर उपमहानगरपालिकाको उपप्रमुख पनि एकीकृत समाजवादीलाई परेको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपाललाई विरगञ्ज महानगरपालिकाको प्रमुख र विराटनगर महानगरपालिकाको उपप्रमुख भागमा परेको छ । त्यस्तै जनकपुर उपमहानगरपालिका प्रमुखका साथै कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख पनि जसपा नेपालको भागमा परेको मन्त्री कार्कीले बताए ।

गठबन्धनले गठबन्धनले यसअघि नै जारी गरेको मापदण्ड, सहमतीको मर्म र भावना अनुसार सम्बन्धित समितिहरुको बैठकबसि अबिलम्ब सिट बाँडफाँड तथा उम्मेदवारहरुको चयन गर्न निर्देशन पनि दिएको छ । सहमती हुन नसकेका ठाउँहरुमा गठबन्धनभित्रैबाट प्रतिस्पर्धा गर्ने सहमझदारी बनेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।


प्रतिक्रिया