कांग्रेस, एमाले र माओवादीका कारण देश असफल भयो : राजेन्द्र लिङ्देन

नेपालखोज २०७९ वैशाख ८ गते १९:२९

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलका कारण जनताको आँखामा आँसु आउने अवस्था आएको बताएका छन् । उनले देश बनाउनुभन्दा पनि भ्रष्टचार गर्नेहरु धेरै भएका कारणले मुलको विकास हुन नसकेको जिकिर गरे ।

अध्यक्ष लिङ्देनले राप्रपा जनताको भविष्यको पार्टी भएको बताएका छन् । लिङ्देनले देश बचाउने र बनाउने मुद्दामा राप्रपा प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने ‘देशभन्दा ठूलो र माथि कोही नभएकाले देश बचाउन कांग्रेस, एमाले र माओवादीका विरुद्ध राप्रपालाई मत दिने समय आयो । गएको चुनावमा ठीक पार्टी र ठीक नेता चुन्न नसकेकाले देश र जनताले दुर्गति भोग्नुपरेको छ । नेपाली जनताले त्यो विषय प्रष्ट बुझेका छन्, अहिलेको जनलहरले त्यो प्रस्ट पारेको छ ।’

कांग्रेस, एमाले र माओवादीले पाएसम्म ऋण ल्याई भत्ता खाएर देश चलाएको आरोप लगाउँदै लिङ्देनले भने, ‘राजनीतिक दलको विकल्पमा राप्रपा आएको हो । हुँदा खाँदाको राजतन्त्र र हिन्दू राष्ट्र फाल्ने निर्णय गलत भएकाले राप्रपा जनतासँग सही एजेन्डा लिएर चुनावमा मत माग्न आएको छ । कांग्रेस, एमाले र माओवादीका कारण देश असफल राष्ट्रको बाटोतर्फ गएको छ । नेपाली जनताले बुझेका छन् । नबुझेकालाई हामी बुझाउने छौं ।’

संघीयताले देशको ऋण र कर बढेको बताउँदै उनले कर तिरेर पनि जनताले केही नपाएको औंल्याए । राष्ट्रघातीहरुलाई हराउन बाउबाजेको पार्टी राप्रपालाई भोट दिन उनले आग्रह गरे । उनले ठूला भनिएका राजनीतिक दलहरुले नेपाललाई असफल बनाएर नागरिकमा चरम निराशा उत्पन्न गराएको कारणले अर्को शक्तिको रुपमा आफ्नो पार्टी आएको बताए । उनले देश र धर्म बचाउनका लागि स्थानीय तहको निर्वाचनमा होमिएको भन्दै भ्रष्टाचार गर्नेहरु बाट छुटकारा दिनको लागि देशमा आफ्नो पार्टीको आवस्यकता रहेको बताए ।

उनले आफ्नो पार्टीका लागि उम्मेदवारहरूले पहिला भ्रष्टाचार नगर्ने कसम खाएपछि मात्रै मनोनयन गर्न निर्देशन दिए । उनले हिन्दु, मुस्लिम जो धर्मको उम्मेदवार भएपनि पहिलो मन्दिर, आफ्नो धर्म अनुसारको ठाउँमा भ्रष्टाचार गर्दैन भन्ने कसम खाएपछि मात्र मनोनयन गर्न निर्देशन दिए । उनले आफू भ्रष्टाचार नगर्ने र आफ्नो पार्टीमा लाग्नेहरू पनि भ्रष्टाचारबाट टाढा बस्न निर्देशन दिए । अघिल्लो निर्वाचनसम्म ८ खर्ब ऋण रहेको नेपालमा अहिले १७ अर्ब ऋण लागेको भन्दै देशमा युवा ५० भन्दा धेरै अरुको देशमा श्रम गनुपर्ने अवस्था देशका शासन चलाउनेहरूका कारण आएको बताए ।

राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले देशको नेतृत्व गर्ने असल नेतृत्व नहुँदा देश र जनताले दुःख पाएको बताए । उनले राष्ट्रवादी शक्ति राप्रपा भएकाले राप्रपाको नेतृत्वलाई विश्वास गर्न आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापाले चुनावमा राप्रपाबाहेक अन्य पार्टीहरुलाई जनतासँग भोट माग्ने अधिकार नभएको दाबी गरे । मुलुकका लागि राजा र राजतन्त्र चाहिने उनको तर्क थियो ।

कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, पुनराम पोखरेललगायतले भ्रष्टाचारको अन्त्य, मुलुकको राष्ट्रिय स्वाधीनता र एकताका लागि राप्रपालाई एकपटक अवसर दिनका लागि मत दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया