विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आव्हान गर्नुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकतावद्ध हुन आव्हान गरेका हुन् ।
उनले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकतावद्ध हुनु आवश्यक रहेको बताए । उनले भने ‘हिजो नेपालको जनवादी क्रान्तिलाई मौलिक ढंगले पुरा गर्न मुख्य योगदान गरेको माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका सबै विभिन्न धाराहरुलाई आजको दिनले सबभन्दा पहिला एकतावद्ध हुन प्रेरित गरोस् । म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता, कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहान्छु । आउनुहोस् अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरु, मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइ नै राखेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ । अहिलेपनि यो देशका महिला, दलित, आदिबासी, जनजाति, मधेशी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरु खोस्ने षड्यन्त्र रोकिएको छैन । त्यसकारण हामी सबै यो परिवर्तनका पक्षधरहरु, यो परिवर्तनको निम्ति त्याग र बलिदानका किर्तिमान कायम गर्नेहरु सबै एक ठाउँमा केन्द्रीत हुन जरुरी छ । माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुर्नप्राप्ति हुनसक्छ, फेरी निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसको निम्ति कसरत भई नै राखेको छ । त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता, कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहान्छु ।
अध्यक्ष दाहालले विगतमा कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध बनाउनका लागि नेकपा(एमाले)सँग एकिकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विर्सजनवादी चिन्तनका कारणले सफल हुन नसकेको बताएका छन् । उनले एमालेभित्रका वाम गठबन्धनका पक्षधरहरुले पार्टीभित्र संघर्ष गर्नुपर्ने पनि बताए । उनले भने – सम्पूर्ण एमालेभित्रका ति इमान्दार कम्युनिष्टहरु, जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो । हुनुहुन्छ अहिलेपनि । कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ, भनिराख्नु भएको छ अहिलेपनि उहाँहरुलाई गलत प्रवृत्तिको विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् । आज पार्टी स्थापना दिवसले, लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरु सबैलाई फेरी एकचोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुछ ।’
अध्यक्ष दाहालले माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुविकरणको प्रक्रिया सुरु भएको बताए । विगतमा पार्टी छोडेर जानेहरुले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मुल घरमै फर्किने क्रम बढेको उनको भनाई छ ।

प्रतिक्रिया