पूर्वराजदूत लक्कीसहित माओवादी नेता एमाले प्रवेश

काठमाडाैं । पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन् ।
ओलीले माओवादी केन्द्रका पूर्व पोलिटब्यूरो सदस्य धर्मदत्त देवकोटालाई पनि पार्टीमा प्रवेश गराएका छन् । शेर्पासमेत माओवादी केन्द्रकी पूर्व पोलिटब्यूरो सदस्य हुन् । पूर्वमेयर सालीकराम पौडेल, सागर ढकाल, डा. ल्हाक्पा शेर्पा र कोषबहादुर जीसी समेत एमाले प्रवेश गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरेर नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका हुन् ।
उनीहरुले प्रचण्ड अवसरबादी भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेकपा माओवादीको अध्यक्ष प्रचण्डको अवसरबादी, महत्वकांक्षी, नीतिगत तथा संगठानिक अराजकता एवं दलाल नोकरशाही, अस्थिर राजनीतिक चरित्रका कारण देशमा दक्षिणपन्थी, पूँजीवादी शक्तिको पिच्छाका रुपमा कम्युनिस्ट आदर्श बर्गिय पक्षधरता राष्ट्रको हित बिपरितका कदमप्रति पूर्णत असहमति रहेकाले उक्त पार्टी त्याग गरेको घोषणा गर्दछौं । देश र जनताको मनोभावना अनुसार राजनीतिक निकाश दिन सक्ने एकमात्र क्रान्तिकारी पार्टी ने।क।पा।को निरन्तर बिकशित पार्टी ने।क।पा। एमाले नै भएको ठहर गरी हामी ने।क।पा। एमालेमा समाहित भएको घोषणा गर्दछौं ।’


प्रतिक्रिया