शुक्रबार, वैशाख २८, २०८१

म हराएको दिन

राजबल्लभ कोइराला २०७९ वैशाख १० गते ८:२३

डर लाग्यो
कतै, म हराएकै दिन
खोज्ने छौ तिमीले मलाई
कहिले कहिँ
पटक पटक
म स्वयं हराउँदा
मैले समेत भेटेको छैन मलाई
अनायेसै
हावामा बाफ बिलाए झैँ,
हराउछु म
हेर्दा हेर्दै
आकाशमा बादल हराए झैं,
हराउँछु म
हिँड्दा हिँड्दै अल्मलिएको बाटो झैं
यसै हराएको जिज्ञासा झैं
त्यसै हराएको उत्तर झैँ
हराइ दिन्छु म त
उदेक लाग्दो लाग्ला यो हराई
कुनै दिन फेरि
हराईबाट म भेट्टिएको बखत
जब म तिमीलाई खोज्ने छु
मलाई थाहा छ
तिमी स्वयं हराउने छौ
मलाई खोज्न कम आफैंलाई खोज्न ज्यादा,
म जस्तै .. ।

प्रतिक्रिया