विद्यासुन्दरका लोभलाग्दा १०१ आश्वासन, काम भने ‘जिरो’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २०७४ सालको स्थानीय तहको निर्वाचन जित्न लोभलाग्दा आश्वासन दिए । तर चुनावी घोषणापत्रमा उल्लेख भएका बुँदा अनुसार प्रभावकारी रूपमा काम नगरेको गुनासो छ । शाक्यले त्यसबेला चुनाव लड्दा घोषणापत्रमार्फत लोभलाग्दा १०१ बुँदे आश्वासन दिएका थिए । तर काम भने शून्य देखिएको महानगरवासीको अनुभव छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । यही वैशाख ३० गते को निर्वाचन लक्षित गरी राजनीतिक दलका नेताको दौड्धुप ह्वात्तै बढेको छ । देशको निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचनको मिति आउन केही दिनमात्रै बाँकी छ । दलका नेताहरू स्थानीयस्तरसम्म चुनावीसभामा गर्न र अर्को पार्टीका नेता–कार्यकर्ता आफ्नो पार्टीमा तान्न व्यस्त छन् ।
स्थानीय तहमा पनि नगरपालिकाका मेयर–उपमेयर, पालिकाका अध्यक्ष–उपाध्यक्ष र वडाध्यक्ष पदमा उठ्न लबिइङ सुरु भएको छ । कतिपयले सामाजिक सन्जाल, पत्रकार र सञ्चारमाध्यममा नेताहरूले प्रचारबाजी गर्दै आएका छन् । महानगर, नगर तथा पालिकाका प्रमुखहरू फेरि एक कार्यकालका लागि भन्दै पुनः उम्मेदवार हुने बताउँदै आएका छन् ।
यसै क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि पुनः मेयर बन्ने चर्चा छ । तर शाक्य पुनः मेयरमा उठ्ने हल्ला भइरहँदा अधिकांश जान्नेबुझ्ने तथा उनकै पार्टीका समर्थकले समेत स्वीकार गरेका छैनन् । भोट हालेर जिताउनेले नै मेयरको उम्मेदवार नस्विकार्नुको कारण भोटमाथि उनले गरेको विश्वासघात भएको सरोकारवालाको दाबी छ ।
शाक्यले २०७४ मा काठमाडौं मेयरको पदमा उम्मेदवारी दिए । पदका लागि आकर्षक घोषणापत्र तयार पारे । जनतालाई गर्न नसक्ने जस्तासुकै आश्वासन दिएरै पनि भोट प्राप्त गर्नु थियो उनलाई । सय दिनमा १०१ काम गरेर देखाउँछु भन्ने प्रचाररूपी कागज सार्वजनिक गरे ।
घोषणापत्र तथा चुनावी घरदैलोका क्रममा महानगरका बासिन्दालाई शाक्यले विभिन्न आश्वासन दिएका थिए । महानगरवासीले साँच्चै शाक्यले केही गर्छन् कि भनेर त्यसैको आडमा पत्याए, भोट दिए, जिताए पनि । तर कार्यकाल सकिँदै गर्दा उनको कामको मूल्यांकन कसैले पनि रूचाएको देखिएन । गरेका काम पनि प्रभावकारी बनेनन् ।
काठमाडौंका बासिन्दा धेरै समस्यासँग साक्षात्कार छन् । घोषणापत्रमा उल्लेख गरिएका काम राम्रोसँग गरेको भए भौतिक विकासको काम नभए पनि कम्तिमा महानगरको फोहोर व्यवस्थापन त हुन्थ्यो । प्रदूषणरहित सहर स्थापित हुन सक्थ्यो । तर भौतिक विकासको त के कुरा ? सामान्य सामाजिक तथा वातावरणीय विकाससमेत शाक्य नेतृत्वको काठमाडौं महानगरपालिकाले गर्नै सकेको छैन ।
विद्यासुन्दर शाक्य पुनः काठमाडौं महानगरपालिकाको मेयरको उम्मेद्वार हुने चर्चा छ । तर शाक्य पुनः मेयरमा उठ्ने हल्ला भइरहँदा अधिकांश जान्ने–बुझ्ने तथा उनकै पार्टीका समर्थकले स्वीकार गरेका छैनन् । शाक्यले महानगरवासीलाई विश्वासघात गरेको गुनासो सर्वत्र छ ।
२०७४ सालको चुनावी प्रतिबद्धता कागजमै सीमित भएको छ । तत्कालीन अवस्थामा अहिलेका मेयर शाक्यले जनतासामु गरेका प्रतिबद्धता अरू स्थानीय तहका प्रमुखका उम्मेदवारका भन्दा धेरै फरक थिए । साँच्चै काठमाडौं महानगरपालिका सिंगापुर नै हुने भयो भन्नेमा सबै आशावादी थिए । तर मेयरले बलेको आगोमा चिसो पानी खन्याइदिए ।
शाक्यले जुन किसिमले काम गर्छु भनेर प्रतिबद्धताका फेहरिस्त बनाएका थिए । सबै कागजमै सीमित भए, काम त शून्य भएको नगरवासीको गुनासो छ । देशको राजधानी त्यसमा पनि ठूलो सहर भएकैले पनि धेरै बुँदा भएको घोषणापत्र ल्याउनु स्वभाविकजस्तै पनि थियो ।
‘काठमाडौंको मेयरमा भिजन भएको मान्छे ल्याओस्’
काठमाडौंको मेयरमा नयाँ भिजन भएको व्यक्ति आउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । वर्तमान मेयर विद्यासुन्दर शाक्य आगामी वैशाख ३० गतेको निर्वाचनमा फेरि उठ्ने चर्चा भइरहेका बेला यस्तो प्रतिक्रिया आएको हो । स्थानीय विकास विज्ञ श्यामप्रसाद ढकालले नेपालखोजसँग भने, ‘वर्तमान मेयर विद्यासुन्दर शाक्यले २०७४ सालको चुनावी घोषणापत्रमा काठमाडौंलाई जस्तो बनाउँछु भनेका थिए, त्यो पूरा गर्न सकेनन् । फेरि पनि उनी चुनावमा उठ्ने कुरो छ, मेयर जिते काम गर्नै सक्दैनन् ।’
काठमाडौंमा ट्राफिक जाम, फोहोर, धुलोधुवाँलगायतको समस्या विकराल छ । मेयर शाक्यले वर्षौंदेखिको फोहोर व्यवस्थापनको समस्या कत्ति पनि समाधान गर्न नसकेको ढकाल बताउँछन् । यस्तै महानगरको गल्ली तथा सडकलाई मापदण्डअनुसार उनले चौडा पार्न नसकेको उनको भनाइ छ । ‘शिक्षा, स्वास्थ्यको क्षेत्रमा जुन किसिमले पाँच वर्षमा विकास हुनुपर्ने हो त्यो भएको छैन । सरकारी विद्यालयको संरचनाको अवस्था कमजोर छ,’ ढकालले भने ।
गरिब तथा जेहेनदार विद्यार्थीका लागि उचित सुविधा प्रदान गर्न नसकेको महानगरवासीको गुनासो छ । यस्तै भौतिक तथा सामाजिक विकासको पक्षमा उनले प्रगति हासिल गर्न सकेका छैनन् । फेरि पनि एमालेले टिकट दिएर शाक्यले जिते उनीबाट विकासको केही पनि अपेक्षा नगर्दा हुने ढकाल ठोकुवा गर्छन् ।
ढकाल भन्छन्, ‘मेयर शाक्य पाँचवर्षे परीक्षामा फेल भएका छन्, राम्रो भिजन भएका र विकासप्रेमी मान्छेलाई टिकट दिन आवश्यक छ । भिजन भएका मान्छेलाई टिकट दिए मात्रै काठमाडौंको विकासले गति लिनसक्छ ।’
२०७४ सालमा शाक्यले ६४ हजार ९१३ मत ल्याएर काठमाडौं महानगरको मेयरमा चुनिएका थिए । चुनावमा उठ्दा बनाइएको घोषणापत्रमा काठमाडौंमा नो–मास्क सिटी, स्मार्ट सिटी, साइकल लेन, मोनोरेल, ग्रिनसिटी, मिनी असन बजार, सही ठाम सही काम, नो ट्राफिक जाम, काठमाडौं धुलोधुँवामुक्त, हराभरा, मेलम्चीको पानी आफ्नै कार्यकालमा ल्याउन प्रयास गर्नेलगायत १०१ चुनावी प्रतिबद्धता उल्लेख थिए ।
पछिल्लो अवस्था हेर्ने हो भने पुरातात्त्विक महत्त्व बोकेको काठमाडौ सहर विश्वमै कलंकित सहरका रूपमा गनिएको छ । यो मनगढन्ते लेखाइ नभई तथ्यपूर्ण कुरा हो । केही दिनअघि मात्रै विश्वका सहरमा प्रदूषणको अवस्था सार्वजनिक भएको थियो ।
नेपालको काठमाडौं सहर विश्वमै छैटौं स्थानमा दर्ज भयो । छैटौं स्थानभन्दा अघि तेस्रो प्रदूषित सहर पनि साबित भएको थियो । दक्षिण एसियामा अहिलेसम्म पनि प्रदूषित सहरमा पहिलो स्थानमै छ । विश्वका लगभग दुईसय राष्ट्रमा नेपाल प्रदूषण फैलाउनेमा अग्रणी हुनु पक्कै पनि संघीय सरकार र काठमाडौं महानगरपालिकाले पर्यावरण तथा वातावरणको क्षेत्रमा चासो नदिएरै हो ।
काठमाडौं विश्वमै प्रदूषित गणना हुनुमा मेयर पद जितेर कार्यभार सम्हाल्दै आएका विद्यासुन्दर शाक्यले चासो नदिएरै हो । अर्कोपल्ट पनि चुनाव आउँछ, जनताको बीचमा जानुपर्छ भन्ने हेक्का भएको भए पक्कै पनि काठमाडौको हरेक समस्याको केही न केही समाधान हुन्थ्यो । वातावरणमा केही न केही सुधार हुन्थ्यो । नगरवासी धुलोधुँवामा रुमलिनु पर्दैनथ्यो ।
प्रदूषणकै कारण महानगरवासीले विभिन्न रोगको सिकार हुनुपर्ने अवस्था छ । शाक्यले घोषणापत्रमा महानगरपालिकाको कार्यालय परिसभित्र मूल्यवान फल लाग्ने रूख रोप्ने र ग्रिन एन्ड क्लिन काठमाडौं अभियान सुरु गर्ने भन्ने समेटेका थिए । तर त्यो प्रतिबद्धता नारामै सीमित भएको छ ।
कुनै पनि स्थानीय तहको विकास विवादरहित किसिमले काम गर्ने क्षमता प्रमुख तथा मेयरमा हुनुपर्छ । तर महानगरका मेयर शाक्यको विवाद आफूभन्दा तलाका पदाधिकारीसँग भइरह्यो । कर्मचारीवृत्तमा पनि उनी विवादास्पद छन् । विकासका नाममा उपमेयर हरिप्रभा खड्गीसँग विवाद चुलिँदै गयो । उनले उपमेयरलाई चित्त बुझाएर विकासको काम अघि बढाउन सकेनन् ।
मेयर शाक्यको उपमेयर खड्गीसँग विवादमै आएका कारण काठमाडौं महानगरको विकास धेरै पछाडि धकेलिएको छ । मेयर–उपमेयर मिलेर काम गरेको भए, जुनसुकै योजना पनि सजिलै अगाडि बढ्थे । महानगरपालिकाको विकासले फड्को माथ्र्यो ।
ऐतिहासिक महत्त्व बोकेको रानी पोखरी पुनर्निर्माणका क्रममै मेयर शाक्य धेरै विवादित भए । विशेषतः उनले पुरातात्त्विक महत्त्व मेटाएर रानीपोखरी पुनर्निर्माण गर्ने योजना ल्याएका थिए । तर उपमेयर खड्गी तथा महानगरका बासिन्दाले पुरातात्त्विक महत्त्व नमेटाई पुनर्निर्माण गरिनुपर्छ भन्ने आवाज उठाउँदा केही समय पुनर्निर्माणको काम रोकिएको पनि थियो ।
तीन सय ५० वर्ष पुरानो ऐतिहासिक सांस्कृतिक सम्पदा रानीपोखरीको आकार घटाउँदै मेयर शाक्यकै अगुवाइमा काठमाडौं महानगरपालिकाले पोखरीभित्र ढलानयुक्त पर्खाल लगाउन थालेपछि पोखरीको पुनर्निर्माण विवादमा तानिएको थियो ।
रानीपोखरीको वरपर बगैंचा र पार्क बनाउने जिम्मा लिएको महानगरपालिकाले पोखरीको आकार घट्ने गरी आरसीसी ढलानयुक्त पर्खाल लगाउन थालेपछि स्थानीयले विरोध गरेका थिए । ढलानयुक्त निर्माणले परम्परागत प्रविधि र पोखरीको मौलिक स्वरूप बिगारेको भन्दै सम्पदाविदसमेत चर्को विरोधमा उत्रिए ।
महानगरपालिकाले मौलिकता हराउने गरी बनाएको ढलानयुक्त संरचनाको पुरातत्त्व विभागले समेत विरोध गर्यो । स्थानीय बासिन्दा र सम्पदाविदको सुझावलाई अटेर गर्दै मेयर शाक्य आरसीसी ढलानयुक्त निर्माण कार्यमा तल्लीन रहे । स्थानीय बासिन्दा, उपमेयर खड्गी, सम्पदाविदलगायतको चर्को विरोधपछि पुरातत्त्व विभागले पुरानै शैलीमा मन्दिर पुनर्निर्माणको जिम्मा लिएको थियो । अन्ततः रानीपोखरीको स्वरुप पुरानै लयमा फर्कियो ।
यस्तै उनले घोषणपत्रको प्रतिबद्धतामा महानगरपालिका क्षेत्रभित्रका धार्मिक सांस्कृतिक तथा पर्यटकीय केन्द्र पशुपतिनाथ, बौद्धनाथ, वसन्तपुरलगायत स्थानमा द्रुत गतिको निःशुुल्क वाइफाई क्षेत्र बनाउने उल्लेख गरेका थिए । तर कागजमा लेखेर जनतालाई दिएको प्रतिबद्धता पूरा गर्न सकेनन् । केही सार्वजनिक ठाउँमा वाइफाई राखिए पनि प्रभावकारी हुन सकेको छैन ।
पीडित समुदायसँग वार्ता गर्दै समस्या समाधान गर्ने शाक्यको अर्को प्रमुख प्रतिबद्धता थियो । तर, माछापोखरीको सडक विस्तारका गर्ने क्रममा उनी विवादमा तानिए । घरमा डोजर चलाउँदा मेयर शाक्यसँग जनताले गुहार मागेका थिए । तर बेवास्ता गर्दा उनी विवादित भए । समयसापेक्ष रोजगारीमूलक वातावरण सिर्जना गर्ने र युवाका लागि अनलाइन रोजगार सूचनाकेन्द्र सुरु गर्ने भनेको उनको प्रतिबद्धता पनि कागजमै सीमित भएको छ ।
यस्तै महानगरका संवेदनशीलस्थलमा सीसीटीभी जडान सुरु गर्ने भनेकामा यसमा उनी चुकेका छन् । संवेदनशील ठाउँमा सीसी क्यामेरा नहुँदा असुरक्षाको खतरा छ । केही ठाउँमा भए पनि बिग्रिएको अवस्थामा छन् ।
स्वयम्भू, बौद्ध, पशुपति, वसन्तपुरलगायत धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, पर्यटकीय महत्त्वका सम्पदा क्षेत्रको विकास र प्रवर्द्धन गर्ने भने पनि प्रभावकारी काम हुन सकेको छैन । विभिन्न ठाउँमा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनी असन बजार’ सञ्चालन गर्ने काम पनि सपनारूपी कागज जस्तो मात्रै भएको छ ।
अहिलेको अवस्थामा काठमाडौंमा ट्राफिकजामको समस्या निकै छ । कुनै काम परेर आफ्नो सवारी लिएर हिँडे वा सार्वजनिक बस चढे जामका कारण अत्यावश्यक कामका लागि भनेका बेला नपुगिने अवस्था छ ।
यस्तै गत २०७४ सालको चुनावको सिलसिलामा विभिन्न ठाउँमा पुग्दा गरिब–दुःखीका लागि विशेष ध्यान दिने, भूकम्पलगायत विभिन्न दैवी–विपत्ति आउँदा राहत तथा उद्धारका लागि पहल गर्ने बताएका थिए । तर कोरोना महामारीका बेला काठमाडौंका सडक किनारमा बस्ने, मागेर जीविकोपार्जन गर्ने, दृष्टिविहीन, अशक्त भोकभोकै बस्नुपर्ने अवस्था आयो ।
कोरोना महामारीका बेला राहतका लागि उचित कदम नचाल्दा मेयर शाक्य विवादित भए । गरिब–दुःखीको पेट भर्न दिनमा एकपटक बसपार्कलगायत सार्वजनिक ठाउँमा केही मनकारीले खाना बाँड्न थाले । तर होस्टेमा हैंसे गर्न सहयोग गर्नु त कहाँ हो कहाँ, सार्वजनिकस्थलमा भिड जम्मा गरिए कारबाही गर्ने चेतावनी दिए । यस बेला उनको कदमको विरोध भयो । यत्ति मात्र नभई रत्नपार्कको खुला क्षेत्रमा मनकारीहरूले खाना बाँड्दै आएको शाक्यले देखिसहेनन् । उनले त्यहाँ कोरोना सर्छ भन्दै नगर प्रहरी लगाएर निःसहायको उठिबास लगाए ।
विभिन्न ठाउँमा आवश्यक भवनहरू निर्माण गर्ने शाक्यको चुनावी प्रतिबद्धता थियो । यहाँसम्मकी महानगरपालिकाको आफ्नै भवन बनाउने पनि त्यो पनि कागजमै सीमित छ । भाडा तिर्दा महानगरपालिको मासिक सात लाख रुपैयाँ व्ययभार थपिएको छ ।
सार्वजनिक यातायातको अवस्थामा सुधार गर्ने प्रतिबद्धता पनि कागजमै सीमित भएको छ । निश्चित समय तालिकाअनुसार यातायात सञ्चालन गर्न अपांग, बालबालिकामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने भनिए पनि प्रगति शून्य
छ । आवश्यक ठाउँमा सार्वजनिक शौचालय नबन्दा सर्वसाधारणलाई शौचका लागि समस्या भएको छ ।
अहिले काठमाडौंको प्रमुख समस्या भनेको फोहोरको छ । घोषणापत्रमा लोभलाग्दो कुरा लेखेर शाक्यले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने बताएका थिए । तर उनले मेयरको कार्यभार सम्हालेपछि फोहोर व्यवस्थापन हुन सकेन । केही समय सडकमा देखिएका ब्रुमर गाडी अहिले हराएका छन् । खाल्डाखुल्डी र धुँवाधुलोको समस्या उस्तै छ । धूलोका कारण सडकमा केहीबेर हिँड्न पनि मुस्किल हुन्छ । महानगरका बासिन्दामा आँखाको समस्या पनि बढेको छ ।
राष्ट्रिय योजनाअनुसार काठमाडौंका मुख्य सडकको केही जीर्णोद्धार भए पनि अधिकांशको अवस्था जीर्ण छ । महानगरका भित्री ठाउँमा खाल्डाखुल्डी सडक तथा गल्ली छन् । महानगरभित्र सवै सडकको स्तरोन्नति गर्छु भन्ने मेयरको प्रतिबद्धता बोली र कागजमा सीमित भएको सरोकारवाला एवं जानकार बताउँछन् ।
भर्खरै गरिएको विश्वको अनुसन्धानमुलक रेकर्डअनुसार नेपाल संसारमै हल्ला गर्ने अथवा कोलाहलयुक्त सहरको पहिलो नम्बरमा परेको छ । मेयर शाक्यले ध्वनि प्रदूषणमुक्त सहर बनाउन गरेको प्रतिबद्धता पनि भाषण तथा कागजमै सीमित भएको छ ।
पर्यटकीय नगरी काठमाडौं विश्वकै फोहोर नगरी भनेर रेकर्ड रहनु राम्रो होइन । पछिल्लो पाँच वर्षको अवधिको रेकर्ड हेर्ने हो भने काठमाडौं सहरले विश्वमा नकारात्मक सन्देश दिने रेकर्ड धेरै बनाएको छ । यसको जिम्मेवार अहिले काठमाडौं महानगरपालिका हाँकिरहेका शाक्य नै हुनुपर्ने जानकार महानगरका बासिन्दाले प्रतिक्रिया दिएका छन् ।
महानगरको फोहोरमैला कुर्सीमा बस्नेबित्तिकै समाधान गर्ने भनेका मेयर शाक्यलाई जनताले विश्वास गर्ने आधार गुमिसकेको छ । काठमाडौंमा महिनादिनसम्मै फोहोर थुप्रिने अवस्थाको जिम्मेवारी लिने भनेको महानगरपालिको नेतृत्व सम्हालेका शाक्यकै हो । सिसडोलमा स्थानीय बासिन्दाले फोहोर फाल्न नदिइरहेको अवस्था छ ।
पाँचवर्षे कार्यकालमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नगर्दा मेयर शाक्यलाई अब पुनः कसरी महानगरवासीले विश्वास गर्नेलगायत प्रश्न तेर्सिएका छन् । मेयर जित्नेबित्तिकै फोहोर व्यवस्थापन गर्छु भनेका शाक्य काठमाडौंका फोहोर व्यवस्थापन गर्न नसक्दा सरोकारवाला र महानगरवासीबाट आलोचित छन् । अहिले भने मेयर शाक्य आफूले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै प्रदेश र संघीय सरकारतर्फ औंलो देखाइरहेका छन् ।
शाक्यको गत चुनावको प्रतिबद्धतामा तीनकुनेको जग्गाको समस्या समाधान गर्ने भन्ने पनि हो । यहाँ अत्याधुनिक बुद्ध पार्क निर्माण गरिने भनिए पनि काम भएकै छैन । यस्तै महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्री, प्रविधिमैत्री बनाउने भनिएकामा काम त के कागजी प्रक्रिया पनि पूरा नगरेको जनगुनासो छ । मोनोरेल र मेगाहल बनाउने भनेर गरेको प्रतिबद्धता हावादारी जस्तै भएको छ ।
जनताको प्रतिनिधि कुर्सी वा पदमा पुगेपछि मुस्कानसहितको सेवा दिनुपर्छ । बारम्बार सर्वसाधारण वा मतदातालाई भेटेर सल्लाह सुझाव लिने र सुखदुःख बुझ्ने गर्नुपर्छ । तर चुनावमा हात जोड्दै आएका मेयर शाक्यले अहिले आफूलाई चासो नदिएको सर्वसाधारणको गुनासो छ । मेयर शाक्यलाई जान्नेबुझ्नेहरू नै भेटघाटमा जाँदा बेवास्ता गर्ने गरेको गुनासो छ । जनप्रतिनिधि भए पनि जनताले भेट्न चाहेका बेला उपलब्ध नहुने उनको बानी नै हो ।
कार्यकाल सकिन केही दिन मात्रै बाँकी रहँदा मेयर शाक्य फेरि महानगरको मेयर हुने सपना देख्दै छन् । घोषणापत्रमा उल्लेखित बुँदाहरू पूरा गर्न नसकेका मेयर शाक्यले जनतासँग फेरि कस्तो घोषणापत्र लिएर जाने हुन् त्यो भने चाँडै देखिएला । काठमाडौं महानगरको मेयरको उम्मेदवार बनाउन उनलाई पार्टीले पत्याउने भन्नेमै ठूलो शंका छ ।

प्रतिक्रिया