कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, विराटनगर र ललितपुरको उम्मेदवार टुंगो लाग्दै

नेपालखोज २०७९ वैशाख १० गते ९:३९

काठमाडौं । स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । शुक्रबार राति साढे ११ बजेसम्म बसेको बैठकमा पनि सहमति भएन ।

काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएपनि ललितपुर र विराटनगरको विषयमा सहमति हुन सकेको छैन ।​ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि कांग्रेसको निर्देशन छ ।

बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ । यसअघि कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भनिएका थियो । तर पदाधिकारी र पूर्व पदाधिकारीबीच शुक्रबार भएको बैठकमा महानगरपालिका मेयर र उपमेयरको भागबन्डामा सहमति नजुटेपछि बैठक आजका लागि सारिएको हो ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगन्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ । कांग्रेसले महानगरको टिकट विधान विपरीत वितरण गर्न लागेको हो । केन्द्रीय संसदीय समितिले महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने व्यवस्था छ । तर संसदीय समिति गठन नभएकाले यसपटक केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट महानगर उम्मेदवार चयन गर्ने तयारी कांग्रेसको छ ।

सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ । ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समय छुट्याइएको छ।

प्रतिक्रिया