बिहीबार, वैशाख १३, २०८१

गौतमबुद्ध विमानस्थल : जजिरा एयरले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

नेपालखोज २०७९ वैशाख १० गते १३:५४

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्ध पूर्णिमाको दिनदेखि पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । बुद्ध पूर्णिमाका दिन कुवेतबाट २७८ यात्रु बोक्ने क्षमताको न्यारोबडी जहाजले उडान सुरु गर्ने भएको हो ।

बुद्ध पूर्णिमाको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकिएको र आफ्नो ट्राभलले यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य संघ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले जानकारी दिएका छन् ।

पुरानो विमानस्थलमा आजभोलि दैनिक २४ जहाजले उडान भर्छन् । एउटा मात्र रनवेका कारण ट्राफिक जाम हुने गरेकाले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताएका छन् । उनका अनुसार जजिराको उडान हुने खबरले व्यवसायी उत्साहित देखिएका छन ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार पाँचसय मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताए ।

अधिकारीले भने, ‘धावनमार्ग लामो र साना ठूला गरी दैनिक पाँचवटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चाँडो पहल गर्न निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि नयाँ निर्माण गरिएको उक्त विमानस्थल विधिवत्रुपमा सञ्चालन गरेको थियो ।

उक्त विमानस्थलमा अब ठूला जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गरे यहाँ पर्यटक भित्रिन सक्ने भन्दै स्थानीयमा खुसियाली छाएको छ । उक्त विमानस्थल सन्चालन भएसँगै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सन्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । – रासस

प्रतिक्रिया