शुक्रबार, वैशाख १४, २०८१

इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

नेपालखोज २०८० जेठ २३ गते १८:२९

जेरुसेलम । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ ।

गत शनिबार सिनाई मरुभूमिको सीमामा भएको घातक गोलीबारीमा तीन जना इजरायली सैनिक र इजिप्टका एक जना प्रहरीको मृत्युपछि आज दुई देशका नेताबीच भएको वार्तामा दुवै पक्षले सीमा सुरक्षाका विषयमा आपसमा समन्वय गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।

घटनाप्रति दुवै पक्षले गहिरो समवेदना व्यक्त गर्दै पारस्परिक सुरक्षा सहयोगलाई थप सुदृढ पार्ने तथा शान्ति कायम गर्न उनीहरूले सहमति जनाएको प्रधानमन्त्री नेतान्याहुको कार्यालयले जनाएको छ ।

इजिप्टको राष्ट्रपति कार्यालयका प्रवक्ता अहमद फाहमीका अनुसार द्विपक्षीय सम्बन्धमा प्रतिकूल प्रभावन पार्ने गतिविधि हुन नदिन पारस्परिक समन्वयलाई जारी राख्न दुवै पक्षले इच्छा व्यक्त गरेका थिए ।

इजिप्टका सुरक्षाकर्मीले इजरायलको सीमा नजिक लागूऔषध तस्करहरूलाई लखेटिरहेका बेला भएको गोली हानाहानमा तीन इजरायली सैनिक र इजिप्टको सुरक्षा बलका एक जना सदस्यको मृत्यु भएको इजिप्टको सेनाले बताएको छ ।

सन् १९७९ मा दुई पक्षबीच भएको शान्ति सम्झौताअन्तर्गत दुवै देशले घनिष्ठ सुरक्षा सम्बन्ध कायम गरेकाले इजरायल–इजिप्ट सीमामा यस्ता भिडन्त विरलै हुने गरेका छन् ।

प्रतिक्रिया