काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । काठमाडौंमा आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रममा मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन्।
मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौंमा सुरु भएको खानेपानी २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो । मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ ।
उद्घाटन गरदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि एसियाली बिकास बैंकले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण र त्यसको कारण र स्थायी समस्या समाधानका उपायका लागि अध्ययन गरेकाले प्रतिवेदन तयार भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए । उनले वर्षा याममा मेलम्ची नदीमा बाढी आएमा पूर्व सुचना दिनका लागि अर्ली एलर्ट मेसिन जडान गरिएको बताए । मन्त्री चौधरीले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई व्यवस्थापन गर्नका लागि मन्त्रालयमा सचिवको संयोजकत्वमा कोअर्डिनेशन कमिटी गठन गरेको उल्लेख गरे।
उनले वर्षायाममा मेलम्चीको पानीको विकल्पको रुपमा बागमती नदिको पानि शुद्धिकरण गरी ल्याउने प्रक्रिया अगाडी बढाइएको पनि जानकारी दिए । मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन् । ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै उनले ओलीलाई मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिनका लागि पिउन आग्रह गरे।
उनले भने, ‘वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुहुने पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीज्यू जस्तो जिम्मेवार व्यक्तिले शुक्रबार मात्र फेरी मेलम्चीको पानी कुनै हालतमा काठमाडौंमा नआउने र आएपनि मेलम्चीको टनेलबाट बाढी मात्र आउने, पानी आउँदैन भनेर कपोकल्पित, भ्रामक, झुठ र असत्य सुचना प्रवाह गर्नुभएको छ । म आज पूर्वप्रधानमन्त्री ओलीज्यूलाई सुन्दरीजलमा रहेको ट्रिटमेन्ट प्लान्टबाट शुद्ध गरी काठमाडौंबासीको घर-घरमा जोडिएको पाइपबाट आएको मेलम्चीको पानी पिउन आग्रह गर्न चाहान्छु ।’
उनले खानेपानीको नाममा राजनीति नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह समेत गरेका छन् । मन्त्री चौधरीले वर्षाको पानी संकलन, जलाधार संरक्षण गरी पानीको मुल फुटाउ अभियान र पानीको गुणस्तर परिक्षण अभियान सञ्चालन गर्न मन्त्रालयले कार्ययोजना तयार गरी अघि बढ्ने नीति लिएको स्पष्ट पारे ।

प्रतिक्रिया