भ्रष्टाचारमुक्त शासनको आह्वान गर्दै शान्ति समाजले मनायो लोकतन्त्र दिवस

नेपालखोज २०७९ वैशाख ११ गते १४:३०

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले १६औं लोकतन्त्र दिवस मनाएको छ । विगत २६ वर्षदेखि लोकतन्त्रका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले “मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन” को आह्वान गर्दै लोकतन्त्र दिवस मनाएको हो ।

दिवसका अवसरमा समाजले रुपन्देहीको वुटवलमा प्रदर्शन गरेको छ । कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्रको स्थायीत्वका लागि सुशासन अनिवार्य भएको धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, शान्ति समाज शाखा सभापति डिपी खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । सहभागीहरुले लोकतन्त्र जिन्दावाद, मितव्ययी निर्वाचनः भ्रष्टाचारमुक्त शासन, दिगो लोकतन्त्रका लागि सुशासन, आजको आवश्यकता स् प्रविधिमैत्री निर्वाचन, लोकतन्त्रको आधार स् शान्ति र मानव अधिकार, लोकतन्त्रको गन्तव्य : दण्डहीनताको अन्त्य, वैज्ञानिक शिक्षा : सबैको अधिकार, गुणस्तरीय स्वास्थ्य सेवा : सबैको अधिकार, लोकतान्त्रिक संस्कृति : अहिंसात्मक जीवनधारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

त्यस्तै, शान्ति समाज तेह्रथुम शाखाले आज सदरमुकाम म्याङ्लुङमा आयोजना गरेको प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सदस्य लक्ष्मीनारायण मिश्र र शाखा सभापति टिकाराम खुलालले लोकतन्त्रको स्थायीत्व र सम्मानका विषयमा मन्तव्य राखेका थिए ।

त्यस्तै, शान्ति समाज काठमाडौं शाखाले लोकतन्त्र दिवसका अवसरमा आज काठमाडौंमा आयोजना गरेको शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन विषयक गोष्ठीमा शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, काठमाडौं शाखा सभापति भगवान पुडासैनी र राजनीतिक समाजका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी लोकतन्त्र दिवसकै अवसरमा शान्ति समाज दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको अन्तरक्रियामा शान्ति समाजका वरिष्ठ उपसभापति शुसिल बस्नेत, सचिव निर्मल नेपाली, शाखा सभापति तुलसीराम सुनार, सहसचिव उषा गौतमलगायत नागरिक समाज र राजनीतिक समाजका गरि एक दर्जन वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजिकरण शाखा सचिव निर्मला डाँगीले गरेकी थिइन् ।

लोकतन्त्र दिवसकै अवसरमा शान्ति समाज कास्की शाखाले आज पोखरामा निर्वाचन आचारसंहितासम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । कास्की शाखा सभापति तिर्थराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण शाखा सचिव सावित्री पौडेल शर्माले गरेकी थिइन् ।

१२औं लोकतन्त्र दिवसको अवसरमा आज साँझ शान्ति समाजका एक दर्जन शाखाले दिप प्रज्वलन कार्यक्रम आयोजना गर्दैछन् । २०६२÷६३ को ऐतिहासिक जन आन्दोलनको पृष्ठभूमीमा योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले वैशाख ११ गते लोकतन्त्र दिवस देशव्यापीरुपमा कार्यक्रम आयोजना गरि मनाउँदै आएको छ ।

प्रतिक्रिया