नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगाएतका सहरहरुका १ सयभन्दा धेरै स्कृनमा एकसाथ प्रदर्शन हुने भएको छ ।
पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठूला सहरहरुमा पनि प्रदर्शन हुनेछ । प्रेमगन्ज नेपाल(भारत दुवै देशमा एउटै मिति भाद्र ३ अर्थात् अगस्ट १९ मा एकैसाथ प्रदर्शन हुनेछ । लाखौं नेपाली र नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामा नै प्रदर्शन हुन लागेको हो भने, अंग्रेजी सब टाइटल भने हुनेछ ।
प्रेमगन्जलाई ड्रिम्स थिएटर मोसन पिक्चरका संचालक म्याबो ह्यङ्गले अल ईन्डियामा वितरण गर्न लागेका हुन् । फिल्म राम्रो बनेको र ईन्डियामा पनि नेपाली चलचित्रको बजारको सम्भावना ठूलो रहेको र यो चलचित्रले राम्रो कमाई गर्नेमा आफू विश्वस्थ रहेको म्याबो ह्यङ्गले बताए । नेपाली चलचित्रलाई भारतीय बजारसम्म लैजानका लागि कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन् ।
परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै, फिल्ममा पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।
स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो । यस अघि निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया