१९ जना परिक्षार्थी जापानबाट सहभागि

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, (एसइई) २०७८ मा जापान बाट १९ जना नेपाली विद्यार्थी सहभागी छन्। जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट विद्यार्थीहरुले परीक्षा दिइरहेका छन्।
केन्द्रमा जापानस्थित नेपाली दूतावासबाट अनुगमन भइरहेको छ । उक्त विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम लागू गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका बमोजिम परीक्षा सञ्चालन भएको हो ।
विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र पठाइएको छ, भने विद्यालयका प्रधानाध्यापकलाई केन्द्राअध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्डमातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन्। वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ललितपुरबाट पाँच जना विदेशी विद्यार्थीले नेपालमा रहेर परीक्षा दिइरहेका छन्।
अघिल्ला दुई वर्षमा कोभिड-१९ का कारण आन्तरिक मूल्यांकनबाट परीक्षा सम्पन्न भएकोमा यो वर्ष भौतिक उपस्थितिमा केन्द्रस्तरबाट परीक्षा सञ्चालन भएको हो । पाँच लाख १४ हजार ९७७ विद्यार्थीले आवेदन दिएको परीक्षामा कूल दुई हजार सात परीक्षा केन्द्र तोकिएका छन् । परीक्षामा दुई लाख ५७ हजार ९२४ जना छात्रा र दुई लाख ५७ हजार ५३ जना छात्र रहेका छन्।
परीक्षामा ग्रेडवृद्धितर्फ ११ हजार ४५४ जना र प्राविधिक धारतर्फ १४ हजार ५६४ जना विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ । देशभरबाट पहिलो र दोस्रो दिनको अनुपस्थित परीक्षार्थी संख्या संकलन भइ नसके पनि काठमाडौंमा कूल ३६ हजार परीक्षार्थीले आवेदन दिएकामाा एक हजार एक सय जना विद्यार्थी अनुपस्थित रहेको पाइएको छ।
परीक्षामा कूल ६१ विषयका विद्यार्थी संलग्न छन्। परीक्षाका लागि केन्द्राअध्यक्ष, सहायक केन्द्राअध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सुरक्षाकर्मी गरी करीब ७० हजार जनशक्ति खटिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, बोर्डका अध्यक्ष महाश्रम शर्मा, मन्त्रालयका सचिव यादव कोइराला, नियन्त्रक रायमााझीलगायत उच्चाधिकारीले परीक्षाबारे नियमित जानकारी लिई आवश्यक सहजीकरण र निर्देशन दिइएका छन्।
वैशाख २० गतेसम्म सञ्चालन हुने परीक्षाको दोस्रो दिन आज परीक्षा सञ्चालन निरीक्षणका क्रममा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा भेटिएका अध्यक्ष शर्माले हालसम्मको परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादितरुपमा भएको बताए। बोर्डले विभिन्न जिल्लामा परीक्षाको अनुगमन पनि गरिरहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले संघीय शिक्षा ऐन निर्माण भइनसकेकाले यस वर्षसम्म केन्द्रबाटै एसइई सञ्चालन भएको र आगामी दिनमा प्रदेशस्तरबाट सञ्चालन गराउन नीतीगत निर्णय भइसकेको बताए । आगामी दिनमा प्रदेशस्तरमा प्रश्नपत्र निर्माण, परीक्षा व्यवस्थान, सञ्चालन र उत्तरपुस्तीका समपरीक्षणलगायतका कार्य हुने छन् ।बोर्डबाट अभिलेखीकरण र परीक्षाफल प्रकाशनका कार्य हुने नियन्त्रक रायमाझीले बताए ।
माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन र सञ्चालन स्थानीय तहको जिम्मेवारीमा परेकाले कक्षा १० को परीक्षा केन्द्रबाट सञ्चालन गरिरहनु उपयुक्त नहुने विज्ञहरुको भनाइ छ । सिकाइ उपलब्धिमा सुधार र शिक्षामा सुधारका लागि पाठ्यक्रम, शिक्षण पद्दति र परीक्षा प्रणालीमा थप परिमार्जनका लागि पनि बहस चल्दै आएको छ । – रासस








प्रतिक्रिया