उम्मेदवार टुंग्याउने जिम्मा देउवाको काँधमा, विराटनगरमा कोइराला र सिटाैलाको हानथाप

नेपालखोज २०७९ वैशाख ११ गते १८:२९

काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख दुई पदको उम्मेदवारको निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई दिने निर्णय गरेको हो ।

बैठकले पार्टीको संसदीय समिति पनि गठन गरेको छ । पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर बनाएको समितिमा १४ औं महाधिवेशनमा सभापति देउवासँग पराजित नेता शेखर कोइराला भने रहेका छैनन् ।

शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा सहमति जुट्न सकेको थिएन् ।स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक असफल भएको हो ।

कार्यसम्पादन समितिमार्फत् नै टिकट दिने तयारी गरिए पनि सहमति जुटेन । कार्यसम्पादन समितिमा पदाधिकारीसहित शीर्ष नेताहरू सदस्य छन् । कांग्रेसले छ मध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगरको मेयर पाएको छ भने ३ मा उपमेयर पाएको छ । कांग्रेसले ७ उपमहानगरमा मेयर र ४ मा उपमेयर लिएर सत्तागठबन्धनसँग चुनावी तालमेल गरेको थियो ।

कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरबाट गठबन्धनबाट मेयरको साझा उम्मेदवार खडा गर्ने छ । यस्तै भरतपुर, पोखरा र विरगन्जमा कांग्रेसबाट उपमेयरको उम्मेदवार हुने छन् । काठमाडौंमा सिर्जना सिंहको नाममा सहमति जुटेपछि विराटनगर र ललितपुरमा सहमतिको खोजि भइरहेको छ । यस्तै उपप्रमुखमा पनि सहमति जुट्न सकेको छैन । आज र भोलि उम्मेदवारी दर्ताको समय भए पनि कांग्रेसले अझै उम्मेदवार तय गर्न सकेको छैन ।

कांग्रेसले विराटनगरमा बहालवाला मेयरलाई अघि बढाउन खोजेको स्रोतको दाबी छ । भीमप्रसाद पराजुलीले अहिले विराटनगरको कमान्ड सम्हालिरहेका छन् । उनलाई फेरि मेयर बनाउन कृष्णप्रसाद सिटौला लयागतका नेताले लबिङ गरिरहेका छन् । तर शेखर कोइरालाले भने नागेश कोइरालालाई टिकट दिनुपर्ने माग गरेको स्रोतको दाबी छ । विराटनगरकमा देखिएको किचलोका कारण कांग्रेसले उम्मेदवार टुंगो लगाउन नसकेको हो । विराटनगरको मेयर बन्न डिला संग्रौलाले समेत इच्छा देखाएकी थिइन् ।

प्रतिक्रिया