विभिन्न संगठनहरुको विरोधका कारण बिमा समिति कसरी घुँडा टेक्न बाध्य भयो ?

काठमाडौं । विभिन्न संघ संगठनहरुले विरोध गरेपछि बिमा कम्पनीहरुको नियामक निकाय बिमा समिती घुँडा टेक्न बाध्य भएको छ । सोही अनुरुप समितिले तत्कालको लागि इन्जिनियरिङ बिमा दर सम्बन्धी निर्देशिका स्थगन गरेको जाानकारी दिएको छ ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इन्जिनियरिङ बिमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका हुन् । बिमा समितिको आयोजनामा आज काठमाडौंमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरुसँग भएको इन्जिनियरिङ बिमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले त्यस्तो जानकारी दिएका हुन् । अध्यक्ष सिलवालको सभापतित्वमा भएको उक्त छलफल कार्यक्रममा बीमा समितिबाट मिति २०७८ साल असोज ६ गते जारी भएको इन्जिनियरिङ बिमा सम्बन्धी मिनिमम् रेट फर नन् ट्यारिफ इन्स्योरेन्स बिजनेश निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।
कार्यकारी निर्देशक पौडेल संयोजक रहेको उपसमितिमा निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान), नेपाल बिमक संघ र पुनर्बीमा कम्पनीका दुई दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासंघ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बिमा समितिका प्रतिनिधि सदस्य(सचिव रहेका छन । उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ । यसैगरी, कार्यक्रममा इन्जिनियरिङ बिमा दरसम्बन्धी निर्देशिका विरुद्ध आन्दोलनरत निर्माण व्यवसायी महासंघ, इप्पान लगायतले गर्दै आएका धर्ना लगायतका विरोधका सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने निर्णय भएको छ ।
अध्यक्ष सिलवालले इन्जिनियरिङ बिमा दर निर्देशिकाका सम्बन्धमा सरोकारवाला सबैको राय, सुझावका आधारमा अगाडि बढ्न समिति तयार रहेको बताए । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्जिनियरिङ बिमा दरका सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलबाट निस्कर्ष निकालेर सहमतिका साथ अगाडि बढ्न समिति प्रतिवद्ध रहेको बताए ।
प्रतिक्रिया