बिहीबार, जेठ ३, २०८१

क्यान इन्फोटेकमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता

नेपालखोज २०७९ वैशाख १३ गते १६:४९

काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससीटी स्मार्ट क्यु आर सफलता पूर्वक सम्पन्न भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७औं संस्करण यसअघि कोविट १९ तथा सम्बन्धि नेपाल सरकारका निर्णयलाई ध्यानमा राख्दै विगतमा २ पटकसम्म स्थगित भएको थियो ।

सुरुदेखि नै पुष/माघ/फाल्गुनको जाडो महिनामा हुने प्रदर्शनी यस पटक पहिलो पटक वैंशाख महिनामा सम्पन्न भएको हो । इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरुले छूट तथा अफरहरूलाई आगामी १-२ महिनासम्म कायम राख्ने क्यान महासंघलाई जानकारी गराएका छन ।

क्यान इन्फोटेकको स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिननै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन । इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो ।

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको उत्कृष्ट स्टलको पुरस्कार वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बि.आइ.सि. टेक्नोलोजी प्रा.लि. ले जितेका छन । उत्कृष्ट स्टलको पुरस्कार मूल्य ने.रु. पचास हजार रहेको छ भने उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सुचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गर्ने क्यान महासंघको योजना रहेको छ ।

क्यान इन्फोटेकको २७ औं संस्करण सफलतापुर्वक आयोजना गर्न सहयोग पुरयाउनुहुने प्रायोजक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु, प्रदर्शक एवं अवलोकनकर्ता, सरकारी निकायहरु, संचार माध्यम एवं पत्रकार मित्रहरुमा क्यान महासंघ हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछ । क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका थिए जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए । २७औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ पेले गरेको थियो भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको थियो ।

ईन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सुचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा असोसियोकोे प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको थियो ।

प्रतिक्रिया