शुक्रबार, जेठ ४, २०८१

ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाए : प्रवक्ता महत

नेपालखोज २०७९ वैशाख १३ गते १९:५८

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका हुन् ।

ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै उनले खेद् प्रकट गरे । ओलीले आपत्तिजनक शब्दहरु प्रयोग गर्दा पनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

एमाले अध्यक्ष ओलीले आजै पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गरेका थिए । प्रवक्ता महतले ओलीको सोही टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन् । उनले निर्वाचनमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरुको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया