कांग्रेसका बागी उम्मेदवारी फिर्ता लिन, थापाकाे आग्रह

नेपालखोज २०७९ वैशाख १४ गते १७:०१

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् । महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिन नमिल्ने बताए । त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उनले पटकपटक दोहोर्‍याएका छन् । महामन्त्री थापाले पार्टी भित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहेपनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढनुको विकल्प नरहेको बताए ।

उनले भने, ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टी भित्र फरक मत मात्रै होईन । ठूलो भिन्न मत पनि छ । यसका बारेमा संघर्ष पनि भयो । त्यो संघर्ष छ र भोलीको दिनमा पनि रहन्छ । तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्विकार गर्ने हो । यसै गरेर पार्टीहरु निर्णय गरेर अघि बढिरहेका हुन्छन ।’

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताए। अन्यथा पार्टीमा फेरी फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उनले स्मरण गराए ।

प्रतिक्रिया