प्रहरीले कोभिड संक्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका प्रशंसनीय

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक विषयमा छलफल कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा भएका उल्लेखनीय कामहरूको चर्चा गर्दै माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको, उनीहरूको लागि प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावलीअनुसार सरूवा/बढुवा गरिएको, अपराध अनुसन्धानलगायत फरार अभियुक्त पक्राउ एवम् लागूऔषध विरूद्धको अभियानलाई तीव्र पारिएको बताए ।

नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान विशेष पहल गरिएको उनले उल्लेख गरे । कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उनले प्रहरी ऐन तथा प्रहरी नियमावलीअनुसार नेपाल सरकार र तालुक मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै काम गरिएको बताए । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालका प्रमुख उपलब्धीहरूसहितको कार्य प्रगती विवरण प्रस्तुतीकरण गरे ।

प्रस्तुतिकरणको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक केसीले नेपाल प्रहरी कार्ययोजना २०७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा वार्षिक कार्यसम्पादन सम्झौता तथा अनुगमन प्रणाली कार्यान्वयन, नीतिगत सुधार तथा कार्यक्रमहरू, भवन निर्माण, तालिम, अन्वेषणमा आधारित योजना निर्माण र कार्यान्वयन प्रणाली कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धान, अन्तर्राष्ट्रिय प्रहरी समन्वय, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, कोरोना रोकथाम तथा नियन्त्रण, नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार हस्तान्तरण, वैदेशिक सहायता, कल्याणकारी कार्यक्रमबारे विश्लेषणसहित जानकारी दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र उपस्थित सञ्चारकर्मीहरूबीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो । उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्य, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया