आइतबार, वैशाख २८, २०८२

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेश मन्त्री सहमत

नेपालखोज २०७९ वैशाख १४ गते २२:००

काठमाडौं । रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् । रुसको भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्ता पछि उनले वार्ताका लागि रुस तयार रहेको जानकारी दिएका हुन् ।

भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले युक्रेनसँगको वार्तालाई फेरि अगाडि बढाउने बारेमा सहमति भएको बताए । युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले स्पष्ट पारे।

उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक-पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दाबी गरे।आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो ।

त्यसपछि पनि पटक पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेका थिएनन् । तर पछिल्लो समयमा वार्ता नै अवरुद्ध भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पुरा हुँदासम्म पनि युद्ध अन्त्यका लागि ठोस संकट नदेखिएपछि राष्ट्रसंघीय महासचिव रुस आएका हुन् ।

उनले यसपछि युक्रेनको भ्रमण गर्ने तालिका छ । रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता अत्यन्त सकारात्मक र उपलब्धीमूलक भएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया