शुक्रबार, जेठ ४, २०८१

दाङको दुई उपमहानगरपालिकामा १५ महिला उम्मेदवार

नेपालखोज २०७९ वैशाख १५ गते ११:२०

दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका दुई उपमहानगरपालिकाका प्रमुख पदमा ६ र उपप्रमुखमा नौ महिला चुनावी मैदानमा उत्रिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुखमा तीन र घोराही उपमहानगरपालिकाको प्रमुमा तीन महिलाले उम्मेदवारी दिएका छन् । तुलसीपुरको उपप्रमखुमा चार र घोराहीको उपप्रमुखमा पाँच महिला उपप्रमुखमा प्रतिस्पर्धा गर्दैछन् । तुलसीपुरमा नगर प्रमुखमा जगधनी चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, जया घर्तीमगर मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी र प्रभा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए ।

त्यस्तै तुलसीपुर उपमहानगरको उपप्रमुखमा नेकपा एमालेबाट स्यानी चौधरी, नेकपा माओवादी केन्द्रबाट मनकुमारी महत, जनता समाजवादीबाट धनसरा विक र नेकपा माक्सवादी लेनिनवादीबाट फग्री चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तुलसीपुर नगरको प्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा नौ जना छन् ।

यस्तै घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरिता देवकोटा, मंगाेल नेशनल अर्गनाइजेसनबाट कल्पना चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट शान्ता चौधरी चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । उपप्रमुखमा एमालेबाट हुमा डिसी, एकीकृत समाजवादीबाट शोभाकुमारी शाह, विवेकशील साझा पार्टीबाट लक्ष्मी जिएम, नेकपा माक्सवादीबाट राधिका क्षेत्री र स्वतन्त्रबाट वसन्ताकुमारी भट्टराई चुनावी मैदानमा हुनुहुन्छ । सो पालिकामा नगरप्रमुखमा १५ र उपप्रमुखमा आठ जनाको मनोनयन दर्ता भएको छ ।

दुवै उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच दलीय गठबन्धनले महिलालाई उम्मेदवार बनाएका छैनन् भने नेकपा एमालेले दुवै उपमहानगरपालिकामा उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ । उन्नाइस वडा रहेको तुलसीपुर उपमहानगरमा पाँच दलीय गठबन्धन र नेकपा एमालेले महिलालाई वडाध्यक्षमा उठाएको छैन । समाजवादी पार्टीले वडा नं ६ बाट गीता देवकोटालाई, राष्ट्रिय जनमुक्ति पार्टीले वडा नं ४ बाट लीला पहाडीलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं १४ बाट जानका पोख्रेललाई वडाध्यक्षमा उठाएको छ ।

प्रतिक्रिया