बिहीबार, वैशाख २०, २०८१

पौडेलले गृहमन्त्रीलाई भने- रेणुलाई जिताउन उम्मेदवारी फिर्ता लिन सकिँदैन

नेपालखोज २०७९ वैशाख १५ गते १३:३८

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका हुन् ।

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर-७ स्थित पौडेल निवास पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताए । आफूले दिएको उमेदवारी चितवनबासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए ।

आफ्नो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही कुरा नभएको समेत उनले स्पष्ट पारे । उनले भने, परिस्थिती धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भने भनेँ ।’

पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे कारबाही गर्न पनि भनेको उनले बताए । विभिन्न जिम्मेवारी दिने गृहमन्त्रीले प्रस्ताव गरेको संकेत गर्दै उनले के प्रस्ताव गरे भन्ने कुरा भने खुलाउन चाहेनन् । आफूलाई कुनै प्रस्तावले नछुने उनले बताए । पौडेललाई भेट्नुअघि गृहमन्त्री खाँणले कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेललाई भेटेका थिए । सापकोटा र खरेलले पनि उम्मेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाँणको आग्रह अस्वीकार गरेका छन् ।

गठबन्धनबाट भरतपुरको मेयरको उमेदवारमा माओवादी केन्द्रकी रेणु दाहाललाई उठाउने निश्चित भएपछि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका कांग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका हुन् । उनले खाणसँगको भेटपछि भने, ‘उहाँहरूले उम्मेदवारी र्फिा लिइदिनुपर्‍यो, गठबन्धन जोगाउनुपर्नेछ भन्नुभयो । मैले यो चितवनका साथीहरूको प्रतिष्ठा र उहाँहरूको भविष्यसँग जोडिएको कुरा हो । मैले एक्लै निर्णय गर्ने विषय होइन,त्यसो भएको हुनाले म यो गर्न सम्भव देख्दिन भनेर पठाएँ ।’

उम्मेदवारी दिने बेलेमै बयोवृद्ध नेता कृष्णलाल सापकोटालगायतको भेलामा पछि पार्टी शीर्ष नेतृत्वको दबाबमा उम्मेदवारी फिर्ता लिन पाइँदैन भनेर बचनबद्धतासहित अघि बढेकाले अहिले आएर कार्यकर्तालाई धोखा दिन नसक्ने पौडेलले बताएका छन् । उनले आफू उम्मेदवारी फिर्ता लिन नसक्ने ठाउँमा पुगिसकेको जवाफ दिएका छन् । खाणले भने पौडेलसँग पुनः छलफल हुने भन्दै उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया