बिहीबार, वैशाख २०, २०८१

एमाले सरकारको राम्रो कामको स्वामित्व हामी लिन्छाैं, नराम्रो ओलीलाई दिन्छाैं : माधव नेपाल

नेपालखोज २०७९ वैशाख १५ गते १५:०७

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता, सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैं बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एकोकृत समाजवादीले लिने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् ।

उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् । अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनमा आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे । बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।

स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उनले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिए । नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा सुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै भूमिका नरहेको बताए । नेपालले भने,’एमालेको ओली गुटले ती सबै कार्यक्रम हामीले गरेको भनेका छन् । उनको त भूमिका नै थिएन । मनमोहन अधिकारी, माधव नेपाल र भरतमोहन अधिकारीको भूमिका थियो । कुरालाई दावाका साथ तपाईहरुले तलसम्म भन्नुपर्छ ।’

एमालेको पालामा भएका राम्रा कामको स्वामित्व आफ्नो रहेको नेपालले बताए । नेपालले ओली गफाडी मात्र भएको आरोप लगाएका छन् । नेपालले ओलीले ३ वर्षमा भ्रष्टाचार गर्ने कार्य मात्र गरेको आरोप लगाए । उनले अब आइरहेको निर्वाचनमा अरुभन्दा किन ठिक छौं भनेर पुष्टि गर्नुपर्ने समेत दाबी गरे । वृद्धभत्ता र एकल महिला र अपांगता भएकाहरुलाई भत्ता दिने कामको सुरुवात आफूहरुले गरेको पनि नेपालले दाबी गरे। अध्यक्ष नेपालले वृद्धभत्ता लगायतको भत्ताको व्यवस्थामा एमालेको ओली गुटको कुनै भूमिका नै नभएको टिप्पणी गरे।

उनले केपी ओलीले पनि यति र ओम्नीबाट देशलाई चुस्ने काम गरेको आरोप लगाए । गफमा ओली अगाडि र काममा आफूहरु अगाडि रहेको नेपालले दाबी गरे। आफूहरु र ओलीको तुलना गर्दा इमान तथा निष्ठाको राजनीति र बेइमानीको ग्राफ निकाल्ने हो भने थाहा हुने नेपालको भनाइ छ।

प्रतिक्रिया