कांग्रेसले कारबाही गरेपछि मल्लले दिए सांसदबाट राजीनामा, गगनलाई ट्युसन पढाउने इच्छा

नेपालखोज २०७९ वैशाख १५ गते १६:३५

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद कर्ण मल्लले पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले आज डडेलधुरामा पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्यूसन’ पढाउने सक्नेसमेत बताएका छन् । उनले बीपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ ? भनेर थापालाई ट्यूसन पढाउन सक्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेससँग बीपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो अर्थात घोषणापत्र नै नभएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्यूसन पढाउनुपर्ने बताएका थिए । उनले भने, कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्यूसन पढाउन सक्छु ।’

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए । आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बीपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो ।

मल्लले आफू साधारण सदस्य नरहने गरी कांग्रेसबाट निष्काशित भएकाले पदबाट राजीनामा दिएको बताएका छन् । उनले भने,‘साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले दिँदैन ।’

मल्ललाई बुधबार कांग्रेसको साधारण सदस्य समेत नरहने गरी निष्काशनको निर्णय भएको थियो । उनी लामो समय सभापति शेरबहादुर देउवाको विश्वासपात्रका रुपमा काम गरेका थिए । केही वर्षयता सम्बन्ध बिग्रिएको थियो ।

मल्लले आफू निकटस्थलाई नेकपा एमालेसँग तालमेल गराएर चुनावमा उठाएका छन् । यो कदमपछि डडेलधुराको राजनीतिमा तरंग आएको छ ।

प्रतिक्रिया