शनिबार, जेठ ५, २०८१

एफएनसीसीआई र पर्यटन बोर्डबीच पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सहमति

नेपालखोज २०७९ वैशाख १५ गते १६:५३

काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी पछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने छन् ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. धनन्जय रेग्मीले आज महासंघ सचिवालयमा हस्ताक्षर गरेका छन् । यसका लागि महासंघको पर्यटन विकास समितिले विशेष भूमिका निर्वाह गरेको थियो ।

आपसी समझदारीअनुसार पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरू(Emerging tourism trends) को अवधारणा विकास गर्ने र तीनको आदानप्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने छ ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयाँ दिशा दिन यो सहमति कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिवद्धता पनि जनाए ।

कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सबै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद् कार्यक्रम आयोजनाको प्रस्ताव पनि गरे । कार्यक्रमबाट यस क्षेत्रलाई माथि उठाउन कम्तिमा ठोस कार्ययोजना तयार गरी सोहीअनुसार अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।

पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनु पर्नेमा जोड दिए ।

साथै नेपालले गुणस्तरीय पर्यटक भित्रयाउने तर्फ पहल गर्नुपर्ने उनको सुझाव थियो । काठमाडौं विमानस्थललाई अलि बढी पर्यटन लक्षित गरी सेवा विस्तार, गुणस्तर सुधारमा जोड दिनुपर्ने धारणा उनको थियो । अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताए ।

वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । पर्यटन विकासमा महासंघका अध्यक्षले राखेका सुझाव निकै मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया