सोमबार, वैशाख १५, २०८२

वित्तीय प्रणालीमा ४६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

नेपालखोज २०७९ वैशाख १५ गते १७:४७

काठमाडौं । वित्तीय प्रणालीमा नेपाल राष्ट्र बैंकले पुन ४६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ४१ दिने मुद्धती निक्षेपकोरुपमा पेन्सन तथा उपदान कोषमा रहेको २६ करोड रुपैयाँ र तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ समेत गरी ४६ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग गरिएको हो ।

रकम लगानीको लागि वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर आवेदन दिनु पर्ने छ । राष्ट्र बैंकका अनुसार कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानीको लागि छुट्याइएको २० करोड रुपैयाँ मध्ये वाणिज्य बैंकहरुको लागि १६ करोड, राष्ट्रियस्तरका बिकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि दुई करोड रुपैंयाँ छुट्याईएको छ । राष्ट्र बैंकका अनुसार यस्तो लगानीको अवधि बिसं २०७९ जेठ तीन गते देखि २०८० जेठ दुई गतेसम्म रहेको छ । उक्त रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १९ गते भित्र आवेदन दिनु पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरुको लागि २० करोड ८० लाख, बिकास बैंकहरुको लागि तीन करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ३० लाख रुपैयाँ छुट्याइएको छ । उक्त रकम लगानीको अवधि बिसं २०७९ जेठ तीन गतेदेखि २०८० बैशाख नौं गते सम्म तोकिएको छ । रकम लगानीको लागि यही जेठ १९ गते अपरान्ह पाँच बजेसम्म आवेदन दिनु पर्ने छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका सर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया