बिहीबार, वैशाख २०, २०८१

आयोगले भन्यो- स्वतन्त्र उम्मेदवारी दिँदा धम्की दिएको सूचना आइरहेको छ त्यो सह्य हुँदैन

नेपालखोज २०७९ वैशाख १६ गते १७:२८

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहीत, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

आज राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले प्रचारप्रसारका सामग्रीहरु बनाउँदा पनि आरोप, प्रत्यारोप र अवाञ्छित गतिविधिका सामग्रीहरु प्रशारित गर्न नहुने तर्फ पनि सचेत गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले मतपत्र कडा कागजमा छापिएकोले च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरे ।

उनले विगतमा भएका गल्तीका कारण निर्वाचन आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरु लागि रहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरुलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे ।

आयुक्त थपलियाले यस वर्ष आयोगले निर्वाचनको तयारी गरिरहँदा निर्वाचनको समयमा उम्मेदवारीमा लचकता अपनाउने र प्रचारप्रसारमा कठोरतालाई नछोड्ने संकल्प लिएको बताए । उनले आयोगले स्थानीय तह निर्वाचनका लागि गरिएका उम्मेदवारी दर्ताले स्थानीय तहमा निर्वाचित हुनुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने भावना नागरिकमा देखिएको महसुस भएको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले विभिन्न राजनीतिक दलका नेताहले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सैह्य नहुने बताए । उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनै पनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे ।

प्रमुख आयुक्त थपलियाले कुनै पनि किसिमको दबाव, त्रास, प्रलोभन, कुनै पनि किसिमको कारबाहीको धम्की वा शक्तिको प्रयोग गरेर उम्मेदवारमाथि दबाव दिए लोकतन्त्र विरोधी गतिविधि हुने बताए ।

प्रतिक्रिया