श्रममन्त्री श्रेष्ठ र मलेसियाका मानव संसाधन मन्त्री एमबीच भेटवार्ता

नेपालखोज २०७९ वैशाख १६ गते २०:३६

काठमाडौं । नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वमा मलेसियाको औपचारिक भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधि मण्डलले मलेसियाका मानव संसाधन मन्त्री दातुक सेरी एम सराभनसँग द्विपक्षीय छलफल गरेको छ ।

बैठकमा नेपाल र मलेसियाबीच ऐतिहासिकरुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको दुवै पक्षले औंल्याएका थिए । बैठकमा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारी पत्रलाई थप प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रम बजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सिपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने, रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शून्य लागतसहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा वृहत छलफल भएका छ ।

नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफुले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरुको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउनेलगायतका विषयमा पनि छलफल भएको छ ।

बैठकमा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रुपमा नेपाली यूवाहरुलाई अवसर दिएकोमा धन्यवाद दिँदै यो क्षेत्रमा कार्यरत यूवाहरुको आधारभूत तलब बढाउने, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्रलगायतका सुविधाहरुको प्रवर्द्धन गराउन आफ्ना समकक्षी समक्ष राखेका थिए ।

बैठकमा नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै नै काठमाडौंमा गर्ने र बैठकमा छलफल भएका विषयहरुलाई औपचारिकता दिने विषयमा समेत सहमति भएको छ ।

प्रतिक्रिया