धनुषामा १०९ को उम्मेद्वारी फिर्ता

नेपालखोज २०७९ वैशाख १७ गते ११:३५

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उमेदवारले उमेदवारी फिर्ता लिएका छन् । 

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उमेदवारी दिएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उमेदवारी दिएका विश्वनाथ साहले आफ्नो उमेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।   
    
जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाको वडाध्यक्ष पदमा ११, एक वडासदस्य पदका उमेदवारले उमेदवारी फिर्ता लिएको जनाइएको छ । यस्तै धनुषाको मिथिला नगरपालिकामा नगरप्रमुख पदमा उमेदवारी दिएका हरिनारायण महतो र चन्देश्वर महतोले उमेदवारी फिर्ता लिएका छन् ।  

सो नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष पदका लागि दिएका पाँच र वडासदस्य पदका चार जनाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए ।  धनुषाधाम नगरपालिकामा एक उपप्रमुखको उमेदवारीसहित सात जनाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जीवी गौतमले जानकारी दिए ।  
    
लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उमेदवारी दिएकी मेनकाकुमारी सिंह र वडाध्यक्षका दुई तथा सदस्यका चारजनाले उमेदवारी फिर्ता लिएका हुन् । धनुषाको बटेश्वर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा उमेदवारी दिएका खगेन्द्रबहादुर कटुवाल र वडाध्यक्षका एक तथा दलित महिला सदस्यका एक उमेदवारले उमेदवारी फिर्ता लिएको जनाइएको छ ।

धनौजी गाउँपालिकामा समेत अध्यक्ष पदका उमेदवार लक्ष्मण मण्डल तथा दुईजना वडाध्यक्ष पदका उमेदवारले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । विदेह नगरपालिकामा दुई वडाध्यक्ष पदका उमेदवारसहित पाँच, हंसपुर नगरपालिकामा दुईजनाले उमेदवारी फिर्ता लिएका छन् ।

सबैला नगरपालिकामा छ  वडाध्यक्ष र एक वडा सदस्य पदका उमेदवारसहित सात जनाले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत वासुदेव पाण्डेले जानकारी दिए । धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह छन् । रासस

प्रतिक्रिया