शुक्रबार, जेठ ४, २०८१

देशभर ४ सय पर्यवेक्षक खटाइने तयारी, उम्मेदवारले गर्ने खर्चबारे गहन अध्ययन गरिने

नेपालखोज २०७९ वैशाख १७ गते १५:५५

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपाल (ई.ओ.सि.नेपाल) ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्यवेक्षण गर्ने भएको छ । यसका लागि समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले स्थानीय तहको निर्वाचनको लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालनसमेत गरिसकेको जनाएको हो । त्यसैगरी छोटो समयका लागि भने ७७ वटै जिल्लामा ईओसि नेपालले पर्यवेक्षण गर्ने भएको छ ।

त्यसको लागि ४ सय जना पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको विज्ञप्तिमार्फत जनाएको छ । ईओसि नेपालका अध्यक्ष प्रदीप पोखरेलले २०७० सालमा संस्था स्थापना भएको उल्लेख गर्दै संविधान सभाको निर्वाचन र त्यसपछि भएका निर्वाचनमा पनि आफ्नो संस्थाले पर्यवेक्षणको भूमिका खेलेको स्मरण गराए । स्थानीय तहको निर्वाचनको लागि संस्थाको पर्यवेक्षणको तयारी पूरा गरेको जनाएका छन् ।

उनले ७७ जिल्लामध्ये ४० जिल्लामा लामो समयका पर्यवेक्षक पठाईसकेको जनाए । उनले भने, ‘उहाँहरुले एक महिना हेर्नुहुन्छ र प्रतिवेदन पठाउनुहुन्छ । ७७ वटै जिल्लामा ४ सय जना छोटो अवधिका पर्यवेक्षकहरु खटाउँछौं । उम्मेद्धवारी दिने दिनदेखि मत परीणाम आउने बेलासम्मको पर्यवेक्षण गरिनेछ ।’

उनले निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार भएको गुनासो गरेका छन् । निर्वाचनमा सबै पर्यवेक्षण संस्थाका गरेर २० हजार पर्यवेक्षकहरु खटिने आफूहरुले विश्वास लिएको उनको भनाई छ । संस्थाका कार्यकारी सदस्य राजाराम बर्तौलाले संविधानसभा हुँदाको अवस्थादेखि नै आफ्नो संस्थाले लोकतन्त्रको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै विशेषतः निर्वाचन प्रणालीसम्बन्धी विशेषज्ञको रुपमा काम गरेको स्पष्ट पारे । बर्तौलाले संविधानसभाको निर्वाचनमा पनि आफ्नो संस्थाले निर्वाचन पर्यवेक्षणको काम गरेको स्पष्ट पारे ।

२०७४ को तीनै तहको निर्वाचनमा पनि संस्थाले धेरैजसो जिल्लामा पर्यवेक्षकहरु खटाएर पर्यवेक्षण गरेको उनले स्मरण गराए । अहिले निर्वाचन महँगो भयो भनेर भनिए पनि आफूहरुले ०७४ को निर्वाचनको दौरान गरेको अध्ययन स्मरण गराउँदै अहिले निर्वाचन महँगो भयो भनेर आफूहरुकै रिपोर्टकै आधारमा आम मानिसबाट अभिव्यक्ति आएको उनको दाबी छ ।

उनले निर्वाचन लोकतन्त्रको संस्थागत विकास तर्फको यात्रा भएको पनि उल्लेख गरेका छन् । निर्वाचनको क्रममा संस्थाले समावेशिताको विषयमा पनि गहन अध्ययन गरेर प्रतिवेदन तयार पार्ने बताए ।

संस्थाले निर्वाचन आचारसंहिता विपरितका गतिविधिहरुलाई समयमै नियन्त्रण गर्नका लागि पहल गर्न निर्वाचन आयोगलाई अपिल गरेको छ । साथै, उसले राजनैतिक दल तथा उमेद्वारहरुलाई निर्वाचन आचार संहिताको अक्षरसः पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाँउबाट पहल गर्नसमेत अपिल गरेको छ ।

प्रतिक्रिया