श्रमजीवी वर्गको हित रक्षा र लोकतन्त्रका मूल्य-मान्यता स्थापित गर्न पार्टी प्रतिबद्ध : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्त्वपूर्ण माध्यमको रुपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताए ।
उनले श्रमजीवी वर्ग मुलुकको बहुआयामिक विकासको आधारस्तम्भ भएको भनेका छन् । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उनले बताएका छन् । श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने, त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र विजयसम्म अघि बढाउने घोषणाका साथ विसं २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको सच्चा उत्तराधिकारीका रूपमा आफ्नो पार्टी जनताका बीचमा आएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले नेपाली समाजमा भएका शोषण, दमन र निरंकुशतासँग जुधेर श्रमजीवी वर्गको हित रक्षा गर्न र लोकतन्त्रका मूल्य-मान्यता स्थापित गर्न पार्टी प्रतिबद्ध रहेको बताए । नेपालले आफ्नो सन्देशमार्फत सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति-निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने ‘अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने गरेको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउने हाम्रो प्राथमिकता हो । स्वदेशमा पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमका रूपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ ।’
अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने गरेकोमा उनले गुनासो गरे ।
प्रतिक्रिया