शुक्रबार, जेठ ४, २०८१

गठबन्धन एक/एक तोला मात्र भए पनि सुन हाे : महामन्त्री शर्मा

नेपालखोज २०७९ वैशाख १८ गते १२:५०

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टीले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।

उनले कांग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पहलकदमी गरिरहेको बताए । महामन्त्री शर्माले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए ।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे ।

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताए । उनले काठमाडौं महानगरपालिकामा यस पटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गरे । महामन्त्री शर्माले कांग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया