‘निर्णय पालना नगर्नेलाई आ-आफ्ना दलले कारबाही गर्ने’

नेपालखोज २०७९ वैशाख १८ गते १२:४८

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले समझदारीअनुसार उम्मेदवारी फिर्ता नभएको र फिर्ता लिन समय नपुगेको ठाउँमा पनि समझदारीकै भावनाअनुसार अघि बढ्ने निर्णय गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुमगन समितिले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुका लागि उक्त निर्देशन दिएको हो ।

यस्तै गठबन्धनको मर्म र भावनाअनुसार एकता कायम गर्दै निर्वाचनमा सक्रियपूर्वक जिम्मेवारी गर्ने निर्णय भएको छ । निर्णय पालना नगर्नेलाई आ-आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ । निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप कार्य गर्न/गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरुलाई निर्देश गर्ने ।’

प्रतिक्रिया