‘महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउँछु’

काठमाडाैं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेद्वार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउने बताएकी छन् ।
आइतबार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेद्वार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार सिंहले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताइन् । उनले महिलाहरुले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भएपनि राज्यले श्रमको मुल्यांकन नगरेको बताइन् ।
उनले आफू काठमाडौं महानगरपालिकाको मेयर भएको खण्डमा गरिबीको रेखा मुनि रहेको श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउने बताइन् । त्यसैगरी बेरोजगार युवाहरुका लागि डिजिटल प्रविधिको प्रयोगगरी सिपमुलक तालिम दिने र उद्यमी बनाउने पनि उनले उल्लेख गरिन् ।
उनले श्रमिक महिलाहरुका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयहरुमा शिशु स्याहार केन्द्र बनाउने पनि बताइन् ।
त्यसैगरी महानगरले युवा क्लवहरुसँग सहकार्य गरी युवाहरुलाई खेलकुदतर्फ आर्कषित गर्ने पनि उनले बताइन् । सिंहले प्रत्येक सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने पनि उल्लेख गरिन् । उनले प्रत्येक वडाको गल्ली–गल्लीमा बिजुली बत्ति बालेर र सिसी क्यामेरा जडान गरेर महिलाहरुका लागि सुरक्षित अनुभुति गराउने पनि बताइन् ।

प्रतिक्रिया