‘काठमाडौंको मेयर भए भ्रष्टाचार र कमिसनको जालो तोड्छौं’
काठमाडौं । काठमाडौं महानगरभित्रको भ्रष्टाचार र कमिसनको जालो तोड्न आफूहरूले मेयर पदमा उम्मेद्वारी दिएको साना दलका नेताहरूले बताएका छन् । मेयरका उम्मेद्वारहरूबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन् ।
विवेकशील साझा पार्टीका तर्फबाट मेयर पदकी उम्मेद्वार समीक्षा बास्कोटाले अहिलेसम्म काठमाडौंका जनप्रतिनिधिले जनताको काम गर्न असफल भएको जनाइन् । फरक विचार लिएर आएको उनको भनाइ छ । उनले आफूले मेयर पद जित्न कुनै ठूला सपना नबाँड्ने बताइन् ।
उम्मेद्वार बास्कोटाले आफूले मेयर जिते भएका संरचनालाई नै व्यवस्थित तथा संरक्षण गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । महानगरमा सार्वजनिक निजी अवधारणा नअपनाइएकाले जनप्रनिधि नै भ्रष्टाचारमा लिप्त भएको उनको दाबी छ । उनले मेयर भएमा कुनै पनि दलका नेता–कार्यकर्ताको दवावमा नपरिकन काम गर्ने जनाइन् । आफ्नो कदम भ्रष्टाचारविरोधी नै हुने बास्कोटाको भनाइ छ ।
यसैबीच नेपाली कांग्रेस बीपीबाट मेयर पदका उम्मेद्वार भक्तराज भुसालले काठमाडौंका जनताले जिताए पाँच वर्षे कार्यकालमा कुनै पनि पारिश्रमिक नलिने प्रतिबद्धता जनाएका छन् । २०४६ सालको परिवर्तनपछि कांग्रेस, एमालेलगायत दलका नेताहरूले काठमाडौंको मेयरमा टिकट पाउन करोडौं खर्च गर्ने गरेको र उक्त रकम असुल्न भ्रष्टाचारमा लिप्त भएको भुसालले आरोप लगाए । विकास नहुनुको प्रमुख कारण बजेटको दुरुपयोग भएको भुसालको दाबी छ ।
यसैगरी मेयर पदमा स्वतन्त्र उम्मेद्वार सुशील थापाले आफू कमिसनको जालो तोड्न मेयर पदमा उठेको बताएका छन् । कुनै पनि राजनीतिक दलमा नभएकाले कमिसनको जालो तोड्न एक्लै लड्ने उनको भनाइ छ । महानगरमा भ्रष्टाचार, वेरोजगारलगायतका समस्या रहेको बताउँदै मेयर भएमा विद्वत वर्गसँग छलफल गरेर अनेक समस्याहरू हल गर्ने थापाले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया